गैरआवासीय नेपाली संघले नेदरल्याण्ड्स राष्ट्रिय समन्वय परिषद्को मान्यता फिर्ता लिएको घोषणा
नेदरल्याण्ड्स । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले नेदरल्याण्ड्सस्थित आफ्नो राष्ट्रिय समन्वय परिषद् (एनसीसी) लाई दिएको औपचारिक मान्यता (recognition) फिर्ता लिएको छ।
अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०२५ जुन २८ (२०८२ असार १४) मा सम्पन्न १०५ औं बैठकको निर्णयअनुसार एनसीसी नेदरल्याण्ड्सले संघको विधानमा उल्लेखित कानुनी प्रावधानअनुसार आवश्यक निर्देशनहरू पालना नगरेको भन्दै मान्यता फिर्ता गरिएको हो।
गैरआवासीय नेपाली संघको २००३ सालको विधान (२०२२ को संशोधनसहित) को दफा १७ को उपदफा १७.७ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई आवश्यकतामा राष्ट्रिय समन्वय परिषद् गठन वा विघटन गर्ने तथा मान्यता फिर्ता गर्ने अधिकार दिएको छ। सोही उपदफाको खण्ड १७.७.२ मा संघको निर्देशनहरू पालना नगरेको अवस्थामा मान्यता फिर्ता लिन सकिने उल्लेख छ।
एनआरएनएले एनसीसी नेदरल्याण्ड्सलाई पटक–पटक निर्देशन दिए पनि पालन नभएको भन्दै उक्त कानूनी प्रावधान अनुसार कारबाही गरिएको जनाएको छ।
संघको विधानको अनुसूची ८ मा “संघले निर्धारण गरेको मापदण्डअनुसार सदस्यहरुको विवरण अद्यावधिक गर्नुपर्ने” व्यवस्था छ भने २०२१ मा जारी ‘राष्ट्रिय महाधिवेशन सञ्चालन तथा राष्ट्रिय समन्वय परिषद् सम्बन्धन सम्बन्धी नियमावली’ को नियम ४ मा सदस्यता शुल्क निर्धारण तथा सदस्य विवरण एकीकृत Membership Information System मा प्रविष्ट गर्नुपर्ने कानूनी प्रावधान छ। उक्त प्रणालीबाट पञ्जिकृत सदस्यताका लागि फेसियल भेरिफिकेशनसमेत अनिवार्य गरिएको छ। संघको आरोप छ कि नेदरल्याण्ड्स एनसीसीले यी मापदण्डहरू पुरा नगरेको हो।
यस्तै, विधानको दफा २४ को उपदफा २४.१ अनुसार प्रत्येक राष्ट्रिय समन्वय परिषद्ले अन्तर्राष्ट्रिय महाधिवेशन हुने वर्षको जुलाई महिनाभित्र अनिवार्य राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नुपर्ने व्यवस्था छ। अन्तर्राष्ट्रिय समन्वय परिषद्ले नेदरल्याण्ड्स एनसीसीको वर्तमान पदाधिकारीहरूलाई नयाँ अधिवेशन गराउने जिम्मेवारी पनि तोकेको छ।
नयाँ अधिवेशनको व्यवस्थापन गर्न गठित संयोजन समितिमा उपाध्यक्ष रामचन्द्र पोखरेललाई संयोजक बनाइएको छ भने संघर्षशील केसी, अर्चना पाण्डे, पेमा लामा, अम्बिका गिरी, साबित्रि पौडेल, सन्दीप विश्वकर्मा, कमलबहादुर विश्वकर्मा, सुमन काफ्ले, सरोज ढकाल (गिरी), धनबहादुर बोहोरा, डम्बर कोइराला, रामबहादुर पौडेल, कैलाश गिरी, भीमभक्त राई र हिरण्य ओझा लगायतलाई सदस्य बनाइएको छ।
त्यसैगरी, सदस्यता प्रमाणीकरण समिति पनि गठन गरिएको छ। यसको संयोजकमा टिकाराम सापकोटा छन् भने अर्चना पाण्डे, अम्बिका गिरी, संघर्षशील केसी र कमल बहादुर विश्वकर्मा सदस्य रहेका छन्।
संघका अधिकारीहरूले यस निर्णयले नेदरल्याण्ड्समा रहेका नेपाली समुदायको संगठित र पारदर्शी रूपमा प्रतिनिधित्व गर्ने उद्देश्यलाई थप मजबुत पार्ने विश्वास व्यक्त गरेका छन्।