युरोपका इटाली, स्पेन, ग्रीस र पोर्चुगल लगायतका देशहरुमा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । कतिपय क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । मौसमविद्हरूले जलवायु परिवर्तनकै असरका कारण यस्ता अत्यधिक गर्मीका लहरहरू बारम्बार देखिन थालेको चेतावनी दिएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पोर्चुगलमा आइतबार दुई तिहाइ भू–भाग ‘अत्यधिक तापक्रम र जङ्गल डढेलोको उच्च जोखिम मा परेको घोषणा गरिएको थियो । राजधानी लिस्बनमा तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरिएको छ ।
इटालीका लाजियो, टस्कनी, कालाब्रिया, पुग्लिया र उम्ब्रिया लगायतका क्षेत्रमा दिउँसोको चर्को घाममा बाहिरी काममा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । इटालियन ट्रेड युनियनहरूले यस्तो उपायलाई राष्ट्रिय स्तरमै विस्तार गर्न माग गरेका छन् ।
इटालीको स्वास्थ्य मन्त्रालयले रोम, मिलान, नेपल्स लगायत २१ वटा प्रमुख शहरहरूलाई सतर्कता सूचिमा राखेको छ ।