युद्ध अन्त्य गर्न प्रारम्भिक सम्झौताका लागि वार्ता भइरहेको बेला अमेरिकाले इरानी मिसाइल प्रक्षेपण स्थलहरू र समुद्रमा बम बिछ्याउन प्रयोग हुने डुंगाहरूमा हवाई आक्रमण गरेको छ।
इरानी सेनाबाट आउने खतराबाट आफ्ना सैनिकहरूको सुरक्षा गर्न अमेरिकी सेनाले आज बिहान दक्षिणी इरानमा आत्मरक्षाका लागि आक्रमण गरेको हो ।
अमेरिकी सेन्ट्रल कमान्डले एक विज्ञप्ति जारी गर्दै यो कारबाही आत्मरक्षाका लागि गरिएको र इरानी फौजबाट आफ्ना सैनिकहरूमाथि हुन सक्ने खतराबाट जोगाउन यो कदम चालिएको दाबी गरेको समाचारमा उल्लेख गरिएको छ ।
सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले जारी युद्ध विरामका बेला अमेरिकी सेनाले संयमता अपनाउँदै आफ्ना फौजको रक्षा गरिरहेको दाबी गरेका छन् । यो आक्रमण इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकासँगको वार्तामा केही प्रगति भएको तर द्वन्द्व अन्त्य गर्ने सम्झौता तत्कालै भइहाल्ने सम्भावना नरहेको बताएका छन् ।
न्युयोर्क टाइम्सले प्रवक्ता हकिन्सले रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज मार्गमा अवस्थित इरानी नौसैनिक बेस रहेको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास नजिकैको क्षेत्रलाई लक्षित गरी आक्रमण गरिएको जनाएको हो । यसअघि इरानी सरकारी सञ्चारमाध्यमले बन्दर अब्बासमा ठूला विस्फोटको आवाज सुनिएपछि स्थानीय अधिकारीले यसको बारेमा अनुसन्धान शुरु गरेको रिपोर्ट सार्वजनिक गरेका थिए ।
गत साताको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष सम्झौताको नजिक पुगेको संकेत गरेका थिए । तर पछि उनले आफ्ना वार्ताकारहरूलाई सम्झौताका लागि हतार नगर्न निर्देशन दिएका थिए।