लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा डा. रक्षा थापाले उम्मेदवारी दिने घोषणा गरेकी छन्।
डा. थापाले आफ्नो फेसबुक टाइमलाइनमार्फत उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय सार्वजनिक गरेकी हुन्। उनले संघको विभिन्न अभियानमा प्राप्त साथ, सहयोग र सल्लाहप्रति आभार व्यक्त गर्दै आगामी निर्वाचनमा सहभागी हुने घोषणा गरेकी हुन्।
उनका अनुसार एनआरएनए यूकेको सदस्यता विस्तार अभियान सफलतापूर्वक सम्पन्न भइसकेको छ। अभियानमा बेलायतभर खटिएका सम्पूर्ण अभियन्ताहरूलाई उनले धन्यवाद दिँदै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान गर्ने सबैप्रति गहिरो कृतज्ञता व्यक्त गरेकी छन्।
डा. थापाले आगामी २६ जुलाई २०२५ मा हुने एनआरएनए यूकेको निर्वाचनमा अनलाइन मतदानमार्फत सहभागी भई आफूलाई अमूल्य मत दिन सम्पूर्ण सदस्यहरूलाई अनुरोध गरेकी छन्।