२६ असार २०८२, बिहीबार
Follow Us

“जलवायु परिवर्तनका कारण युरोपको तापक्रम चार डिग्रीसम्म बढी”

नेपालब्रिटेन संवाददाता
२६ असार २०८२, बिहीबार ०२:०३

पेरिस ।
युरोपमा हालै जलवायु परिवर्तनका कारण चार डिग्री सेल्सियससम्म बढी भएको वैज्ञानिकहरूको एउटा नयाँ अध्ययनले देखाएको छ ।
यस तिव्र गर्मीका कारण हजारौँ मानिसहरू गम्भीर स्वास्थ्य जोखिममा परेका छन् ।
युरोपका पाँच विभिन्न अनुसन्धान संस्थाका वैज्ञानिकहरूले १२ वटा प्रमुख सहरहरूमा गरिएको अध्ययनको आधारमा यस्तो निष्कर्ष निकालेका हुन् ।
उक्त अध्ययनले जुन २३ देखि जुलाई २ सम्मको गर्मी लहर विश्लेषण गरेको थियो ।

उनीहरूको भनाइअनुसार, यदि जलवायु परिवर्तनको प्रभाव नभएको भए ती सहरहरूको तापक्रम दुई देखि चार डिग्री सेल्सियस कम हुने सम्भावना थियो ।
यी सहरहरूमा पेरिस, लन्डन, रोम र म्याड्रिड जस्ता प्रमुख सहरहरू पनि रहेका छन्, जहाँ कुल करिब ३ करोडभन्दा बढी जनसंख्या बसोबास गर्छ ।
वैज्ञानिकहरूका अनुसार अत्यधिक गर्मीका कारण विशेष गरी वृद्ध, साना बालबालिका, दीर्घरोगी तथा बाहिरी क्षेत्रमा काम गर्ने व्यक्तिहरू बढी प्रभावित भएका छन् ।
अनुमान अनुसार ती १२ सहरहरूमा सो अवधिमा करिब दुई हजार ३०० जनाको मृत्यु भएको छ ।

यसमध्ये झन्डै एक हजार ५०० जनाको मृत्यु जलवायु परिवर्तनका कारण तापक्रम अत्यधिक बढेका कारण मात्र भएको हुनसक्ने वैज्ञानिकहरूको भनाइ छ ।

केही ठाउँहरूमा राति समेत तापक्रम नघट्दा शरीरलाई विश्राम लिन गाह्रो भएको देखिएको थियो ।
“तातो मौसमको सामान्यतया बाहिरी प्रभाव कम देखिए पनि यसले धेरै मानिसहरूको ज्यान लिने सम्भावना रहन्छ,” वैज्ञानिकहरू बताउँछन् ।
अधिकारीहरूले पूर्ण मृत्युसंख्या सार्वजनिक गर्न केही हप्ता लाग्न सक्ने जनाएका छन् ।
यस्ता गर्मी लहर अघिल्ला वर्षहरूमा पनि युरोपमा हजारौँ मानिसको मृत्युको कारण बनेका थिए ।

धेरै पढिएको