गैर-आवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याण्डको अध्यक्षमा साबित्री (साबु) पौडेल निर्वाचित भएकी छन्।
आगामी कार्यकाल (२०२५-०२७) का लागि पौडेलसहित सिंगो कार्यसमिति निर्विरोध चयन भएको एनआरएनए प्रवक्ता फणिन्द्र पन्तले सेतोपाटीलाई बताए।
प्रवक्ता पन्तका अनुसार वरिष्ठ उपाध्यक्षमा हिरण्य लाल ओझा, उपाध्यक्षमा शंखवीर लामा, महिला उपाध्यक्षमा निर्मला श्रेष्ठ, युवा उपाध्यक्षमा ध्रुव न्यौपाने चयन भएका छन्। त्यस्तै महासचिवमा सुजन कटुवाल, सचिवमा भुवन गिरी, युवा संयोजकमा गोबिन्द ढकाल, महिला संयोजकमा सुजता शाक्य चयन भएका छन्।
सदस्यहरूमा बिनोद लम्साल, काजी फुँयाल, सन्दिपसिंह बस्नेत, कैलाश गिरी, अनिल पाण्डे र सरू श्रेष्ठ निर्वाचित भएका छन् भने आइसिसी सदस्यमा धन कुमार बोहरा चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष पौडेल गायिका तथा योग प्रशिक्षक समेत हुन्।
२० वर्षदेखि नेदरल्याण्ड बस्दै आएकी पौडेलले नेपाली सामग्री प्रवर्द्धन गर्छिन् भने नेपाली पाठशाला समेत सञ्चालन गर्दै आएकी छन्।
महिला अध्यक्ष निर्विरोधन चयन गरेर नेदरल्याण्डले सकारात्मक सन्देश दिएको एनआरएनएका प्रवक्ता पन्तको भनाइ छ।
‘सशक्त महिला, युवा, व्यवसायी तथा उच्चस्तरीय पेशाकर्मीहरूको प्रतिनिधित्व सुनिश्चित गरिएको छ, जसले संस्था अझ सशक्त र समावेशी बन्ने संकेत दिएको छ,’ उनले भने, ‘नयाँ नेतृत्वले विगतका कमजोरीलाई आत्मसाथ गर्दै नयाँ ढंगले अगाडि बढ्न सक्नेछ भन्ने अपेक्षा गरिएको छ।’