काठमाडौँ । राहदानी विभाग र जर्मन कम्पनी भेरिडोसबीच राहदानी छपाई सम्बन्धी सम्झौता भएको छ। राहदानी विभाग र भेरिडोसका प्रतिनिधि बीच सोमबार राहदानी छपाई सम्बन्धी सम्झौता भएको हो।
सम्झौता पत्रमा राहदानी विभागका तर्फबाट महानिर्देशक तीर्थराज अर्याल र भेरिडोसका तर्फबाट एसिया प्रशान्त क्षेत्रका उपाध्यक्ष फाबियोला बेलरशेमले हस्ताक्षर गरेका छन्। राहदानी विभागमा भएको एक विशेष समारोहमा दुई पक्षबीच हस्ताक्षर भएको हो।
सम्झौता भएसँगै भेरिडोसले आगामी पाँच वर्षभित्र ६४ लाख प्रति राहदानी छपाई गर्ने जिम्मेवारी पाएको छ।
राहदानी विभागले गत साउन ६ गते भेरिडोसलाई राहदानी छाप्ने जिम्मा दिने निर्णय गरेको थियो। राहदानी छपाईका लागि भेरिडोसले ६ अर्ब ११ करोड ३८ लाख २७ हजार ३७०.१४ रुपैयाँमा कबोल गरेको थियो।