२६ भाद्र २०८२, बिहीबार
Follow Us

६ महिनाभित्र अधिवेशन गर्ने गरी एनआरएनए १२औं महाधिवेशन स्थगित

नेपालब्रिटेन संवाददाता
२५ भाद्र २०८२, बुधबार १६:०९

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोबर दोस्रो साताका लागि तय गरिएको १२औं महाधिवेशन स्थगित भएको छ।

नेपालमा उत्पन्न पछिल्लो राजनीतिक संकटलाई मध्यनजर गर्दै संघको बुधबार बसेको बैठकले आगामी ६ महिनाभित्र एकताको महाधिवेशन गर्ने निर्णय गरेको हो। संघको विधानअनुसार अधिकतम ६ महिनासम्म अधिवेशन सार्न सकिने व्यवस्था छ। यसअघि अधिवेशन काठमाडौँमा आगामी अक्टोबर ११ देखि १३ तारिखसम्म हुने तय गरिएको थियो। सो अधिवेशनका लागि करिब ३५ सय प्रतिनिधिले नाम दर्ता गरेका थिए।

बैठकमा हालको राजनीतिक परिस्थितिको समीक्षा गर्दै भावी कार्ययोजना तय गर्ने विषयमा छलफल भएको थियो। संघका अध्यक्ष डा. बद्री केसीले संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, महेशकुमार श्रेष्ठ, आरके शर्मा लगायतसँग परामर्श भएको जानकारी दिए। बैठकमा महेशकुमार श्रेष्ठ समूहलाई समेत आमन्त्रित गरिएको थियो।

भर्र्चुअल माध्यमबाट सम्पन्न बैठकमा अध्यक्ष डा. केसीले देश गम्भीर राजनीतिक मोडमा रहेको उल्लेख गर्दै संस्थाभित्रको विवादभन्दा माथि उठी देशलाई सही दिशामा लैजाने अभियानमा लाग्नुपर्ने आवश्यकता औंल्याए। उनले समृद्ध नेपाल निर्माणमा एनआरएनएको भूमिकाबारे एकताबद्ध हुन आग्रह गरे।

संघका उपाध्यक्ष डा. हेमराज शर्माले पनि बैठकलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ नयाँ सरकारसँग सहकार्य गर्न इच्छुक रहेको बताए। उनले संघ सरकारको अङ्ग नभएर स्वतन्त्र सामाजिक संस्था भएको स्पष्ट गर्दै आगामी दिनमा राज्यसँग सहकार्य गरेर समृद्ध नेपाल निर्माणमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

डा. शर्माले महाभूकम्पका बेला संस्थाभित्र देखिएको एकताको स्मरण गर्दै वर्तमान राजनीतिक परिवर्तनले फेरि नयाँ वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे।

त्यस्तै, संस्थापक संयोजक भीम उदासले संस्थाभित्रको विवादलाई छोडेर एकताबद्ध हुन सबै पक्षलाई आग्रह गरे। उनले “अब मन्त्रालय वा अदालतको निर्णय पर्खेर बस्ने बेला होइन, एकताको पक्षमा उभिनुपर्छ” भन्दै आगामी महाधिवेशनलाई सबै पक्षलाई समेटेर सफल बनाउन सुझाव दिए।

बैठकमा केन्द्रीय पदाधिकारी, आइसीसी सदस्य, सल्लाहकार तथा विभिन्न देशका राष्ट्रिय समितिका अध्यक्षहरूले आ–आफ्ना सुझाव राखेका थिए। साथै, संघले आगामी अक्टोबर ११ तारिखलाई एनआरएनए डे का रूपमा मनाउने निर्णय गरेको छ।

धेरै पढिएको