२८ भाद्र २०८२, शनिबार
Follow Us

देउवा र आरजुमाथि भएको हातपात जघन्य र निन्दनीय अपराध होः शेखर कोइराला

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०८२, शनिबार ०५:३५

काठमाडौं । काँग्रेस नेता डा. शेखर कोइरालाले जेन–जी आन्दोलनकारीबाट आफ्ना सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि भएको भौतिक आक्रमणको निन्दा गरेका छन् । कोइरालाले शनिबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनालाई जघन्य अपराधको संज्ञा दिएका छन् । घरमा बसिरहेका समयमा देउवा दम्पतिमाथि गरिएको आक्रमण र लुटपाटको जति निन्दा गरे पनि कम हुने कोइरालाको भनाइ थियो ।

यस्तै उनले देउवाको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय त्याग, संघर्ष र इतिहास रहेको बताए । ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय त्याग, संघर्ष र इतिहाँस छ, उहाँमाथि घरमा बसिरहेको समयमा पत्नी समेतमाथि गरिएको हातपात र लुटपाटलाई म जघन्य अपराधको कोटीमा राख्छु, यसको जति निन्दा गरेपनि कम हुन्छ’, कोइरालाले भनेका छन्, ‘ हिजो कांग्रेस कहाँ चुक्यो ? के भयो ? र के हुनुपर्थ्यो ? भनेर म यहाँ समय खर्च गर्न चाहन्न ।’

विज्ञप्तिमा कोइरालाले मुलुक मुलुक वेगवानरुपमा नयाँ दिशातर्फ दौडिन खोजेको र देशको राजनीतिमा नयाँ प्रयोग अगाडि आएको भन्दै आफूहरुले यसलाई सतर्कतापूर्वक हेर्नुपर्ने स्पष्ट गरे ।
जेनजी आन्दोलनको युवा उर्जा र चेतनावाट प्रस्फुटन भएको नयाँ सरकारले आमनागरिकको भरोसा र बिश्वास जितेर काम गर्नेछ भन्नेमा आफू विश्सस्त रहेको कोइरालाको भनाइ थियो । आफूले जेनजी आन्दोलनलाई कसरी हेर्नुपर्छ र तत्कालिन सरकारले कसरी हेर्यो भन्नेबारे समीक्षा नगर्ने पनि उनले बताए ।

धेरै पढिएको