काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब युवाहरूलाई नै मुलुकको जिम्मेवारी सुम्पिने बताएका छन् ।
यो पार्टीले शनिबार तत्कालीन माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा जेन जेड कार्यकर्तासँग संवाद कार्यक्रम राखेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अघिल्लो पुस्ताले वैचारिक रूपमा, सांस्कृतिक रूपमा युवा पुस्तालाई गाइडेड गर्ने बताए ।
‘अब तपाईँहरूलाई जिम्मेवारी सुम्पिने हो, यो संकल्प हामीले गर्नुपर्छ र नयाँ नेपालको सपना हामीले देख्नुपर्छ,’ प्रचण्डले भने ।
यो वातावरण बनाउन आफू लागि परेको पनि उनले बताए । नेपालको भविष्यलाई ख्याल गरेर अगाडि बढ्नुपर्ने, नेपालको विकास र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि अगाडि बढ्नुपर्नेमा पनि उनको जोड रहेको छ ।
आफूहरूले निरन्तर संसदमा रहेर संघर्षमा गरेको तर, त्यसले मात्रै काम गर्न नसकिरहेका बेला जेन जेड आन्दोलन भएपछि थप ऊर्जा प्राप्त भएको पनि ‘प्रचण्ड’ले बताए ।
जेन जेड पुस्ताले पहलकदमी लिएर २३ र २४ भदौमा गरेको आन्दोलनले देशलाई र विश्वभर रहेका नेपालीहरूलाई राम्रैसँग झकझक्याएको पनि ‘प्रचण्ड’ले बताए । त्यसले एउटा नयाँ परिस्थिति निर्माण गरेको र नयाँ चेतनातिर अगाडि बढ्न उत्प्रेरित र बाध्य दुवै पारेको ‘प्रचण्ड’को भनाइ रहेको छ ।
यस अर्थमा आन्दोलनमा सहभागी सबै बधाइका पात्र रहेको उल्लेख गर्दै उनले भने, ‘ज्यानजी युवाहरूले उठाएका माग सही छन् । आन्दोलनको उद्देश्य सही छ ।’
यो विषय आफूले भदौ २३ मै पनि भनेको र तत्कालीन सरकारलाई सही माग राखेर भएको आन्दोलनमा बल प्रयोग नगरोस् भनेको पनि स्मरण गरे ।
आफूहरूको माग र जेन जेडहरूको मागमा समानता देखिएको पनि उनले बताए । मागमा समानता भए पनि आफूहरूबाट विगतमा जति गर्न सक्नुपर्दथ्यो त्यति गर्न नसकेकोमा आत्मसमीक्षा गर्दै अगाडि बढ्न तयार भएको उनको भनाइ छ ।
युवाहरूको स्पिरिट अनुसार नयाँ नेपाल निर्माण गर्ने संकल्प लिन भने फेरि एकै ठाउँमा रहन सकिने उनले आग्रह गरे ।
आफू १६ वर्ष उमेर पुगेपछि पार्टीमा जोडिएर राजनीतिमा संलग्न भएको पनि उनले स्मरण गरे । २७ वर्षको उमेरमा युवक संगठनको अध्यक्ष भएको र ३५ वर्षको उमेरमा पुग्दा आफू पार्टीको प्रमुख नेता भएको सुनाए ।
युवाहरूलाई नै लिएर आफूले १० वर्षे सशस्त्रयुद्ध गरेको र २०६२/०६३ को आन्दोलनमा युवाहरूकै सक्रियता रहेको पनि प्रचण्डले सविस्तार व्याख्या गरे । उनका अनुसार युवाहरूकै सक्रियतामा नेपालमा संविधान सभाको निर्वाचन हुन सकेको, मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आउन सकेको हो ।
महिला, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिम, मधेशी लगायत सबै उत्पिडत वर्ग र समुदायले समावेशिता प्राप्त गर्ने आधार तयार गर्नमा समेत युवाको सक्रियता र खबरदारी महत्वपूर्ण रहेको उनको भनाइ रहेको छ ।
विगतमा आफूहरू नेपालबाट सामन्ती उत्पीडनको अन्त्यको सपना देखेर राजनीतिमा आकर्षित भएको उल्लेख गर्दै उनले अहिलेका युवाहरूले भ्रष्टाचार नियन्त्रण र सुशासनको सपना देखेको आफूले पाएको बताए ।
युवाहरूले वैदेशिक हस्तक्षेपको अन्त्य गर्ने र जनताको नेपाल अर्थात् जनगणतन्त्रसम्म पुग्ने सपना समेत युवाहरूमा रहेको पाउँदा खुसी लागेको सुनाए । अब जुन पुस्तामा रहेको भएता पनि युवाको सपना पुरा गर्न सकै एक हुनुपर्ने र त्यसका लागि आफूहरू तयार भएर अगाडि बढेको ‘प्रचण्ड’को भनाइ रहेको छ ।