११ मंसिर २०८२, बिहीबार
Follow Us

निर्धारित समयभन्दा १ वर्ष अगाडि एमालेको महाधिवेशन हुँदैछ, प्रतिनिधि छनोटमा ‘सन्तुलन’ अपनाउनूः विद्या भण्डारी

नेपालब्रिटेन संवाददाता
११ मंसिर २०८२, बिहीबार ०६:२४

काठमाडौँ । पूर्व राष्ट्रपति एवं पूर्व एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनले पार्टीलाई विद्यमान विषम राजनीतिक परिस्थितिको सामना गर्दै अघि बढाउन सफल हुने विश्वास व्यक्त गरेकी छन ।

आगामी २७, २८ र २९ मंसिरमा हुने एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा शुभकामना दिँदै पूर्व उपाध्यक्ष भण्डारीले यस्तो विश्वास व्यक्त गरेकी हुन ।

उनले महाधिवेशन पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूको लागि ऐतिहासिक अवसर भएकाले आम जनताको समेत महत्त्वपूर्ण सरोकारको विषय भएको पनि बताएकी छन । बिहीबार बिहान शुभकामना सन्देश दिँदै उनले भनेकी छन्, ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी परिवारका सबै सदस्यहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु।

विद्यमान विषम राजनीतिक परिस्थितिको सामना गर्दै पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल हुनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु, ‘महाधिवेशन पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूको लागि नीति तथा नेतृत्व निर्माणमार्फत सामाजिक–आर्थिक रूपान्तरणतर्फ सिङ्गो पार्टीलाई मार्गदर्शन गर्ने ऐतिहासिक अवसर भएकाले यो आम जनताको समेत महत्त्वपूर्ण सरोकारको विषय हो ।’

उनले विशेष परिस्थितिका कारण निर्धारित समयावधिभन्दा एक वर्षअघि नै महाधिवेशन हुन गइरहेको उल्लेख गरिन्। उनले भनेकी छन्, ‘विशेष परिस्थितिका कारण निर्धारित समयावधिभन्दा एक वर्षअघि नै हुन गइरहेको यस महाधिवेशनमा वैचारिक तथा राजनीतिक रूपले परिपक्व नेता–कार्यकर्ता, उर्जाशील एवं अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुने गरी महाधिवेशन प्रतिनिधि छनोटमा सम्पूर्ण पार्टी पङ्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिनेनैछ ।’

२ वर्ष अघि नै विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको आफ्नो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेकोप्रति गुनासो गर्दै उनले महाधिवेशनमा भौतिक उपस्थिति नभएपनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले साथमा निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले भनिन, ‘मैले दुइवर्ष अघि नै विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण, म स्वयंको यो महाधिवेशनमा भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईँहरूका साथ निरन्तर रहनेछु ।’

उनले भनेकी छन्, ‘सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील नेपाली जनताको आशा–भरोसाको केन्द्र तथा हाम्रो आस्था र विश्वासको धरोहर नेकपा (एमाले)को यो महाधिवेशन पूर्ण रूपले सफल होस् भन्ने अन्तरमनबाटै शुभेच्छा व्यक्त गर्दछु।’

धेरै पढिएको