२७ बैशाख २०८३, आईतवार
Follow Us

२५ वर्षदेखि बन्द अस्पताल पुनः सञ्चालनको पहल

नेपालब्रिटेन संवाददाता
२७ बैशाख २०८३, आईतवार १५:१४

अमेरिका । नेपालस्थित २५ वर्षदेखि बन्द रहेको एक अस्पताल पुनः सञ्चालनमा ल्याउने उद्देश्यसहित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका अन्तर्गतको एनआरएनए मेडिहेल्थ सेन्टरले नेपाल सरकारसँग समन्वय र सहयोगको औपचारिक अनुरोध गरेको छ।
एनआरएनए मेडिहेल्थ सेन्टरका अध्यक्ष माधव मरासिनीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पठाएको पत्रमार्फत पर्वत जिल्लाको हुवास क्षेत्रमा रहेको उक्त अस्पताल पुनः सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
पत्रमा ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य रहेको उल्लेख गरिएको छ। साथै, स्वास्थ्य सेवासँगै सामाजिक सेवा र जनहितका कार्यक्रममार्फत दीर्घकालीन प्रभाव सिर्जना गर्ने लक्ष्य पनि राखिएको जनाइएको छ।
अस्पताल लामो समयदेखि बन्द रहँदा स्थानीय बासिन्दाले स्वास्थ्य सेवा प्राप्त गर्न कठिनाइ भोग्दै आएको बताइएको छ। यस्तो अवस्थामा अस्पताल पुनः सञ्चालन भए स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
एनआरएनए मेडिहेल्थ सेन्टरले परियोजना सफल बनाउन नेपाल सरकार, सम्बन्धित निकाय तथा विभिन्न सरोकारवालासँग सहकार्य आवश्यक रहेको जनाएको छ। यसका लागि समन्वय, सहजीकरण र आवश्यक सहयोग उपलब्ध गराइदिन सरकारसमक्ष अनुरोध गरिएको छ।
उक्त पत्र प्रधानमन्त्री कार्यालयसहित अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश सरकार, स्थानीय तह, अमेरिकास्थित कूटनीतिक निकाय तथा गैरआवासीय नेपाली संघका विभिन्न पदाधिकारीलाई समेत बोधार्थ पठाइएको जनाइएको छ।
यस पहललाई विदेशमा रहेका नेपाली समुदायबाट स्वास्थ्य क्षेत्रमा सामाजिक योगदान विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ।

धेरै पढिएको