१४ असार २०८३, आईतवार
Follow Us

तेस्रो स्थानमा रहेर पनि भाग्यले ठगिएका ४ टोली

नेपालब्रिटेन संवाददाता
१४ असार २०८३, आईतवार ०७:२१

काठमाडौँ। फिफा विश्वकप २०२६ को समूह चरण समाप्त भएसँगै ४८ मध्ये १६ राष्ट्रको प्रतियोगिता यात्रा टुङ्गिएको छ। प्रत्येक समूहको पुछारमा (चौथो स्थान) रहेका १२ टोलीसँगै तेस्रो स्थानमा रहे पनि उत्कृष्ट आठमा पर्न नसकेका थप चार टोली प्रतियोगिताबाट बाहिरिएका हुन्।

समूह चरणमा चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिने टोलीमा समूह ‘ए’को चेक गणतन्त्र, समूह ‘बी’को कतार, समूह ‘सी’को हाइटी, समूह ‘डी’को टर्की, समूह ‘ई’को क्युरासाओ, समूह ‘एफ’को ट्युनिसिया, समूह ‘जी’को न्युजिल्यान्ड, समूह ‘एच’को साउदी अरब, समूह ‘आई’को इराक, समूह ‘जे’को जोर्डन, समूह ‘के’को उज्बेकिस्तान र समूह ‘एल’को पानामा रहेका छन्।

यी सबै टोलीले आफ्नो समूहमा अन्तिम स्थानमा रहँदै नकआउट चरणमा पुग्ने अवसर गुमाएका हुन्। यस्तै, विश्वकपको नयाँ ढाँचाअनुसार १२ समूहका तेस्रो स्थानमा रहेका टोलीमध्ये उत्कृष्ट आठ टोलीले मात्र राउन्ड अफ ३२ मा स्थान बनाउने व्यवस्था थियो।

सोही आधारमा अङ्क र गोल अन्तरमा पछि परेका इरान, दक्षिण कोरिया, स्कटल्यान्ड र उरुग्वे पनि समूह चरणबाटै बाहिरिएका छन्। इरानले तीन अङ्क जोडेर पनि गोल अन्तरका आधारमा उत्कृष्ट तेस्रो स्थानमा पर्न सकेन। दक्षिण कोरियाले पनि समान तीन अङ्क जोडेको थियो तर कमजोर गोल अन्तरका कारण प्रतियोगिताबाट बाहिरियो।

स्कटल्यान्डले तीन अङ्क बटुले पनि गोल अन्तर निकै कमजोर रहँदा नकआउट यात्रा तय गर्न सकेन भने दुई अंकमा सीमित भएको दुई पटकको विश्व विजेता उरुग्वे समूह चरणमै रोकिँदा यस विश्वकपको सबैभन्दा ठुलो निराशामध्ये एक बनेको छ। यससँगै विश्वकप २०२६ को समूह चरणबाट ३२ टोलीले ‘राउन्ड अफ ३२’ मा स्थान सुरक्षित गरेका छन् भने बाँकी १६ टोलीको उपाधि समाप्त भएको छ।

धेरै पढिएको