मुख्य समाचार

पद्मश्री साहित्य पुरस्कार ‘सलह’लाई, धरावासी र आचार्यलाई सम्मान

काठमाडौं । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास सलहलाई प्रदान गर्ने निर्णय गरेको छ।

प्रतिष्ठानमा प्राप्त १९२ वटा पुस्तकमध्ये विस्तारित सूचीमा परेका १५ र अन्तिम सूचीमा रहेका ५ कृतिमध्येबाट मूल्यांकन समितिले सलहलाई पुरस्कारका लागि छनोट गरेको हो।

प्रतिष्ठानका अनुसार सलहले नेपाली समाजका सीमान्त समुदायका आवाज, लैङ्गिक विभेद, हिंसा, विस्थापन र पहिचानसँग जोडिएका विषयलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। काव्यात्मक भाषा, प्रतीकात्मकता, प्रकृतिको जीवन्त चित्रण र प्रभावकारी कथनशैली उपन्यासका मुख्य विशेषता रहेको प्रतिष्ठानले जनाएको छ।

यसैगरी, नेपाली साहित्यमा पाँच दशकदेखि सक्रिय लेखक कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान प्रदान गर्ने निर्णय गरिएको छ।

धरावासीले शरणार्थी, राधा, आधा बाटोलगायत ३२ वटा कृति लेखेका छन्। उनले करिब दुई दर्जन पुस्तक सम्पादनसमेत गरेका छन्। उनका रचनामा सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, विभेद र इतिहासका कम चर्चामा आएका पक्षलाई प्रस्तुत गरिएको प्रतिष्ठानले जनाएको छ।

त्यस्तै, यस वर्षको पद्मश्री गौरव पुरस्कार प्रा. डा. जयराज आचार्यलाई प्रदान गरिने भएको छ।

नेपाली, अंग्रेजी र संस्कृत भाषाका ज्ञाता आचार्य परराष्ट्र नीति तथा कूटनीतिका अध्येतासमेत हुन्। उनले साहित्य, भाषाविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिसम्बन्धी दर्जनभन्दा बढी कृति लेखेका छन्। ‘यदुनाथ खनालः जीवनी र विचार’, ‘भानुभक्त आचार्यको रामायण नेपाली र अंग्रेजीमा’ र ‘नेपालको परराष्ट्र नीतिः एक विमर्श’ उनका चर्चित कृतिमध्ये हुन्।

संयुक्त राष्ट्रसंघमा नेपालका स्थायी प्रतिनिधिका रूपमा समेत काम गरेका आचार्यले नेपाली भाषा, साहित्य र कूटनीतिक विषयलाई अन्तर्राष्ट्रिय सन्दर्भसँग जोड्न योगदान पुर्‍याएको प्रतिष्ठानले जनाएको छ।

तीनवटै पुरस्कारको राशि जनही ३ लाख रुपैयाँ र सम्मानपत्र रहेको छ। प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले २०८३ असोज १ गते पुरस्कारसम्बन्धी निर्णय सार्वजनिक गरेका हुन्।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता