११ आश्विन २०८३, आईतवार
Follow Us

त्रिशूली-३ ‘ए’ सुरुङमा १० दिनको संघर्ष: मृत्युलाई जितेर फर्किँदा कवीरको अनुभव

नेपालब्रिटेन संवाददाता
११ आश्विन २०८३, आईतवार ०३:४०

काठमाडौँ । भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र थुनिएका मेकानिकल सुपरभाइजर कवीर महर्जन स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मृत्युलाई नजिकबाट देखेर १० दिनपछि सकुशल उद्धार गरिएका महर्जनले आफ्नो जीवनको कठिनतम समयको अनुभव बाँड्दै सुरुङभित्रको त्यो भयानक संघर्षबारे सुनाए । भदौ १० गते बिहानको समयमा आयोजनाको कन्ट्रोल रुममा काम गरिरहँदा महर्जन र उनका सहकर्मी सञ्जय साह अचानक आएको बाढीको चपेटामा परेका थिए ।

सीसीटीभी फुटेजमा बाढीको संकेत देखेपछि हात समातेर बाहिर निस्कने उनीहरूको प्रयास पानीको तिब्र बहावका कारण विफल भयो र दुवै जना सुरुङभित्र अलग–अलग स्थानमा फसे ।

उद्धार भएपछि घर फर्किएका महर्जनले लामो समयसम्म अन्धकारमा बस्दा सुरुङभित्र फसेको कुरा समेत बिर्सिसकेको बताए। ‘त्यहाँ मलाई निन्द्रा लाग्ने र ब्युँझिने क्रम चलिरह्यो। सुरुङभित्र बाहिरको संसारबाट पूर्णतः विच्छेद भएको महसुस हुन्थ्यो ।’ उनले भने ।

६–७ वर्षदेखि सोही आयोजनामा कार्यरत रहेकाले आफू रहेको स्थानसम्म पानी नआउनेमा उनी विश्वस्त थिए । जसले गर्दा उनलाई बाँच्न थप हौसला मिलेको थियो ।

अन्ततः १० दिनपछि टाढाबाट बलेको बत्ती र उद्धारकर्ताहरूको मानिसको आवाज सुन्दा महर्जनले आफू जीवित भएको महसुस गरे । उनले सम्झिए, ‘सुरुमा भ्रम हो कि जस्तो लाग्यो, तर पछि मान्छेको आवाज भएको पक्का भएपछि आवाज दिएँ ।’

उद्धार टोलीले पहिला सहकर्मी सञ्जय साहलाई र त्यसपछि उनलाई उद्धार गरेको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि महर्जनले आफ्नो उद्धारका लागि खटिने नेपाली सेना, नेपाल प्रहरी र सरोकारवाला निकायप्रति कृतज्ञता व्यक्त गरे। उनी हाल शारीरिक रूपमा स्वस्थ भएपनि मानसिक आघातबाट पार पाउन ‘थेरापी’ लिइरहेका छन् ।

परिवारसँगको पुनर्मिलनलाई उनले आफ्नो जीवनको सबैभन्दा ठूलो खुशीको क्षण भएको बताए।

धेरै पढिएको