१२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा आयोजना प्रमुख पक्राउ
काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी)लाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ आर्थिक हानि पुर्याएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीन किशोर शर्मालाई पक्राउ गरेको छ ।
काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि ब्युरोले ४५ वर्षीय शर्मालाई कात्तिक २७ गते शुक्रबार ललितपुर महानगरपालिका-२५, भैँसेपाटीबाट पक्राउ गरेको हो । सर्लाहीको रामनगर गाउँपालिका-३ स्थायी ठेगाना भएका शर्मा भैँसेपाटीमा बस्दै आएका थिए ।
ब्युरोका अनुसार गैरकानुनी आर्थिक लाभ लिएर संस्थानलाई नोक्सानी पुर्याएको भन्ने उजुरीपछि प्रारम्भिक छानबिन थालिएको थियो । संस्थानका तत्कालीन महाप्रबन्धक, प्रशासनिक तहका उच्च अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीको मिलेमतोमा विभिन्न समूह खडा गरी संस्थानलाई प्रत्यक्ष आर्थिक हानि पुर्याइएको प्रारम्भिक छानबिनमा देखिएको ब्युरोले जनाएको छ ।
शर्मामाथि आपराधिक विश्वासघात तथा संगठीत अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

