युक्रेनलाई नेटोमा प्रवेश गराउन डोनबासका केही क्षेत्र छाड्न अमेरिकाको प्रस्ताव
काठमाडौं । अमेरिकी पक्षले युक्रेन नेटोमा प्रवेश पाउने अवस्थामा डोनबास क्षेत्रका केही भूभाग छाड्न तयार छ कि छैन भनेर पहिलोपटक प्रश्न गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।
शनिबार आफ्नो कार्यालयमार्फत सार्वजनिक गरिएको अभिव्यक्तिमा जेलेन्स्कीले भविष्यमा हुने कुनै पनि शान्ति वार्तामा रुसले कब्जा गरेका युक्रेनी भूभागलाई रुसी क्षेत्रका रूपमा मान्यता दिने सहमति नहुने स्पष्ट पारेका छन्।
उनका अनुसार रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकाले युरोपका लागि नयाँ सुरक्षा संरचना निर्माण गर्ने सम्भावनाबारे समेत छलफल गरेको छ।
जेलेन्स्कीले मस्कोको चासो युद्ध अन्त्यमा मात्र सीमित नरहेको र युरोपको समग्र सुरक्षा व्यवस्थासम्बन्धी विषय पुनः उठाउने प्रयास भइरहेको बताए।
उनले भने, “युरोपका सीमाना परिवर्तन गर्ने पुटिनको चाहना वास्तविकता हो। मेरो विश्वासमा यो युरोपको सुरक्षा प्रत्याभूति पुनरावलोकन गर्ने उनको योजनाकै एउटा हिस्सा हो।”
उनले यस्तो प्रयासलाई खतरनाक भन्दै यसले युद्ध वा तनाव थप बढाउन सक्ने चेतावनी पनि दिए।
“मेरो विचारमा यस्ता विषयहरूले नै युद्ध वा द्वन्द्वको अवस्था सिर्जना गर्छन्,” उनले भने।
जेलेन्स्कीको यो भनाइ अबुधाबीमा भएको पछिल्लो चरणको शान्ति वार्तापछि आएको हो। यसअघि अमेरिकी विशेष दूत स्टिभ विटकफ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नरले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा डब्लिनमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए।
रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयास भइरहेका बेला नेटो सदस्यता, डोनबास क्षेत्रको भविष्य र युरोपको सुरक्षा संरचना प्रमुख विवादका विषयका रूपमा देखिएका छन्।

