२० बैशाख २०८१, बिहीबार
Follow Us

सन् १९५० को सन्धि पुनरावलोकनमा भारत सकारात्मक

नेपालब्रिटेन संवाददाता
१३ फाल्गुन २०७४, आईतवार १४:५७

काठमाडौं । सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि लगायत सबै खाले सम्झौता पुनरावलोकनमा भारत सकरात्मक देखिएको छ । आइतबार सम्पन्न नेपाल भारत प्रबुद्ध ब्यक्ति समूह (ईपीजी) को सातौं बैठक पछि आयोजित पत्रकार सम्मेलनमा समूहका भारतीय पक्षका संयोजक भगतसिंह कोसियारीले कुनै पनि पक्षलाई निरास हुन नदिने भन्दै सन्धि पुनरावलोकनका लागि सकरात्मक भएको बताए ।

आइतबार सम्पन्न बैठकमा दुवै पक्षले तयार गरेका मस्यौदामाथि छलफल भएको थियो । चार महिना म्याद बाँकी रहेको ईपीजीले प्रतिवेदनको मस्यौदासमेत तयार गर्ने कामलाई अगाडि बढाइरहेको छ । बैैठकमा सन् १९५० को सन्धि, खुला सीमा व्यवस्थापन, सीमा अतिक्रमण, सुरक्षालगायतका जटिल विषयमा छलफल भएको र छलफल सकरात्मक भएको नेपालतर्फका प्रमुख पूर्वमन्त्री भेषबहादुर थापाले जानकारी दिए ।

जटिल भनिएका खुला सीमा व्यवस्थापन, राष्ट्रिय सुरक्षाका विषयमा दुबै पक्षले समान धारणा बनाएर समाधान खोज्न तर्फ लक्षित भएको उनले जानकारी दिए । ईपीजीको आठौँ बैठक अर्को महिना दिल्लीमा बस्ने छ । भारतीय पक्षका सदस्य जयन्तप्रसाद अस्वस्थ भएका कारण नेपाल आउन नसकेको भन्दै अर्को बैठक मार्चको अन्तिममा दिल्लीमा बस्ने डा. थापाले जानकारी दिए । बैठकमा नेपाल–भारत सम्बन्धलाई समग्रमा अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी पाएको प्रबुद्ध समूहको बैठकमा दुई देश बीचको सुरक्षा संवेदनशीलता, जलस्रोत लगायत विषयमा छलफल भएको थियो ।