२८ बैशाख २०८१, शुक्रबार
Follow Us

माओवादी नेताको २२ वर्षपछि काजकिरिया

नेपालब्रिटेन संवाददाता
२३ फाल्गुन २०७४, बुधबार ०४:३५

काठमाडौं । जाजरकोटमा शसस्त्र द्वन्द्वको क्रममा मारिएका माओवादी नेताको २२ वर्षपछि काजकिरिया गरिएको छ । जाजरकोटको नलगाड नगरपालिका–४, लहँ निवासी तत्कालिन माओवादीका क्षेत्र इन्चार्ज मानबहादुर रावलको मृत्यु भएको २२ वर्षपछि हिन्दु संस्कार अनुसार काजकिरिया गरिएको हो ।
रावलको कुशको शव बनाएर दाहसंस्कार गरी हिन्दु संस्कार अनुसार छोराहरुले बाबुको किरिया गरेका हुन् । प्रहरीले २०५२ साल फागुन १४ गते रावललाई माओवादी भएकै आधारमा घरबाटै पक्राउ गरी हत्या गरेको परिवारका सदस्यको भनाई छ ।
त्यतिबेला रावलका जेठो छोरा गणेश १३ वर्ष, कान्छा छोरा विनोद ३ वर्ष र छोरी सर्मिला एक वर्ष मात्र पुगेका थिए । छोराछोरी सानै भएको र शव समेत नभेटिएकाले त्यतिबेला काजकिरिया नगरिएको मृतकका बुवा कर्णबहादुरले जानकारी दिनु भएको छ ।