२१ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायती कम्पनीले नेपालमा डेढ अर्ब लगानी गर्ने


८ कार्तिक २०७६, शुक्रबार ०६:३३

लण्डन— इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले बेलायती सरकारको पूर्ण स्वामित्व भएको कम्पनी सीडीसीबाट १ अर्ब ३५ करोड ९१२ मिलियन अमेरिकी डलर० लगानी भित्र्याएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी वर्ल्डलिंक र सीडीसीका प्रतिनिधिले संयुक्त रूपमा लगानी भित्रिएको घोषणा गरेका हुन् ।

बेलायती कम्पनी सीडीसीले वर्ल्डलिंकमा स्वपुँजी लगानी गरेको कम्पनीका एसिया प्रमुख श्रीनी नागराजनले बताए । लगानीपछि वर्ल्डलिंकको १० प्रतिशत सेयर सीडीसीको रहनेछ ।

सीडीसीको लगानीले नेपालका दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच पुर्‍याउन र साना उद्यमीलाई इन्टरनेटमा जोड्न सहयोग पुग्ने उनले बताए । सीडीसीको यो नेपालमा पहिलो लगानी हो । उनले सीडीसी नेपालको ऊर्जा क्षेत्र र नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी गर्न पनि इच्छुक रहेको बताए ।

वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले बेलायती कम्पनी सीडीसीले लगानी गरेपछि वर्ल्डलिंक विश्वस्तरीय कम्पनी हो भन्ने प्रमाणित भएको दाबी गरे । उनले बेलायती लगानीकर्ताको प्रवेशपछि कम्पनीको व्यवस्थापन अझै चुस्त हुने बताए ।

वर्ल्डलिंकले आगामी ५ वर्षमा १० लाख घरधुरीलाई इन्टरनेटमा जोड्ने घोषणा गरेको छ । अहिले साढे तीन लाख घरधुरी वर्ल्डलिंकका ग्राहक छन् । आगामी ५ वर्षमा कम्पनीले ५ हजारलाई रोजगारी दिने कम्पनीका सीईओ केशव नेपालले बताए । उनका अनुसार वर्ल्डलिंकले देशभर ८ हजार किलोमिटर अप्टिकल फाइबर विस्तार गरेको छ ।

सीडीसी ग्रुप यूके बेलायती सरकारको पूर्ण स्वमित्व रहेको कम्पनी हो । यसले ७० वर्षदेखि एसिया र अफ्रिकी मुलुकमा लगानी गर्दै आएको छ । कम्पनीको कुल पुँजी करिब ६ अर्ब पाउन्ड छ ।