२१ बैशाख २०८१, शुक्रबार
Follow Us

भ्रमण वर्ष सफल पार्न सहयोग गर्नुस् : मन्त्री भट्टराई

sarusaru
१९ मंसिर २०७६, बिहीबार ०३:५९

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोग गरिदिन नेपालस्थित ३१ देशका राजदूत र पाँच वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग आग्रह गरेका छन्।

मन्त्री भट्टराईले राजदूत र वैदशिक साझेदार संस्था प्रमुखलाई बुधबार मन्त्रालयमै आमन्त्रण गरेर छलफल गरी सो आग्रह समेत गरे। उनले भ्रमण वर्ष २०२० सफल पार्नमा नेपालस्थित राजदूतहरुको महत्वपूर्ण भूमिका भएको र भ्रमण वर्षका बारेमा विश्वभर सूचना तथा सन्देश प्रवाहका लागि अनुरोध गरे ।

“नेपाल भ्रमण वर्ष २०२० को विषयमा यहाँहरुका देशमा सकेसम्म बढी सन्देश प्रवाह गरी यहाँहरुको देशका नागरिक पठाइदिनका लागि अनुरोध गर्छु, उनले भने, “मेरो अनुरोध छ, यो वर्षको नयाँ वर्ष २०२० र क्रिसमस नेपालमै मनाउनुहोस्, यो सन्देश तपाईंको देशको नागरिकसम्म पनि प्रवाह गरिदिनुहोस् ।”

सम्बन्धित देशका पर्यटनमन्त्रीलाई भ्रमण वर्षको उद्घाटन समारोहमा उपस्थितिका लागि निमन्त्रणा पठाइसकिएको जानकारी दिँदै मन्त्री भट्टराईले पर्यटनमन्त्रीलाई उपस्थित गराइदिन पहल कदमीका अनुरोध समेत गरेका छन् । उनले नेपालमा २०७२ को महाभूकम्पले गरेका असर र प्रभावको पीडाबाट विस्तारै उठिरहेको स्मरण गर्दै भने, “महाभूकम्पको पीडाबाट उठ्न गर्नुभएको सहयोगप्रति फेरि एक पटक आभार प्रकट गर्दछौँ, अब पर्यटन वर्ष सफल पार्नमा पनि यहाँको उस्तै सहयोग र साथको अपेक्षा गरेका छौँ ।”

मन्त्री भट्टराईले महाभूकम्पबाट भत्किएका भएको नेपालका ८ सय ९१ सम्पदामध्ये ३ सय ८७ को निर्माण सम्पन्न भएको र बाँकी निर्माणको क्रममा रहेका बताए । उनले दुई वर्षमा भत्किएका सबै सम्पदाको निर्माण सम्पन्न गरिने लक्ष्य रहेको हुँदा सबैसँग सहयोगका लागि आह्वान गरे।

पर्यटनबाट नेपालको कूल गार्हस्थ उत्पादनमा तीन प्रतिशत योगदान रहेको जानकारी दिँदै उनले १५औँ पञ्चवर्षीय योजना सम्पन्न हुदाँसम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य रहेको बताए। मन्त्री भट्टराईले अहिले विदेशी पर्यटकले नेपालमा प्रतिदिन ४४ डलर खर्च गरिरहेको र अब ८० डलर खर्च गराउने र वार्षिक ३५ लाख पर्यटक नेपालमा भित्र्याउने लक्ष्य राखिएको बताए।

मन्त्री भट्टराईले आगामी सन् २०२० मा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र २०२१ मा पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने बताए । निजगढ अन्तरराष्ट्रिय विमानस्थलको पनि प्रारिम्भक काम सकिएको भन्दै उनले लगानीको आवश्यक मोडलको विषयमा लगानी बोर्डले काम गरिरहेको बताए। मन्त्री भट्टराईले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्ने विमान कम्पनीहरुलाई आकर्षक ‘प्याकेज’ सरकारले छिट्टै घोषणा गर्ने बताए।

नेपालको हवाई सुरक्षाको विषयमा युरोपियन युनियनलगायतले राखेको चासोप्रति गम्भीर रहेको भन्दै मन्त्री भट्टराईले अन्तरराष्ट्रिय हवाई सुरक्षाको मापदण्ड पूरा गर्न सरकार सक्रिय रहेको बताए। उनले नेपालका निजी तथा सरकारी वायु सेवा निगम कम्पनीले चाँडै विश्वभरिका आकाशमा निर्वाध उडान भर्ने विश्वास व्यक्त गरे ।

मन्त्री भट्टराईले नेपालमा ५३ वटा आन्तरिक विमानस्थल रहेको जानकारी दिँदै आगमी १० वर्षभित्रमा सबै आन्तरिक विमानस्थललाई अन्तरराष्ट्रिय मापदण्ड अनुसारको बनाइने बताए । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले राजदूतहरुलाई स्वागत गर्दैै विश्वभरि भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि अनुरोध गरे। नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले नेपालको पर्यकीयस्थलहरुको जानकारी, पर्यटनको सम्भाव्यता र भ्रमण वर्षको तयारीका बारेमा जानकारी गराए ।
डिसी नेपाल