लण्डन । नेपालको नयाँ संविधानले गैरआवासीय नेपालीहरुका लागि नागरिकताको व्यवस्था गरे पनि ऐन निर्माणमा ढिलाइ भएपछि विदेशमा बस्ने नेपालीहरु सशंकित बन्न थालेका छन् । नेपाली नागरिकतासम्वन्धी विधेयक संसदीय समितिमा अनिर्णयको बन्दी बनेपछि विदेशमा बस्ने नेपालीहरु सशंकित बनेका हुन् । संसदको राज्य व्यवस्था समितिमा यो विवाद अहिलेसम्म निष्कर्षमा पुगेको छैन । विवादले निकास नपाउँदा गैरआवासीय नेपालीले अपेक्षा गरेको नागरिकता निरन्तरता मुद्दा अन्योलमा परेको छ ।
संसदको यो हिउँदे अधिवेशनमा प्रस्तुत हुने अनुमान गरिएको यो ऐनमा गैरआवासीय नेपालीहरुको अधिकारसमेत कटौती हुनसक्ने आशंका सर्वत्र गरिएको छ । यसै प्रसँगमा बेलायतस्थित नेपाली समुदायले नागरिता निरन्तरताको मुद्दालाई पुनः बहसमा ल्याउने भएका छन् ।
गैरआवासीय नेपाली संघ युकेअन्र्तगत रहेको एनआरएनए इल्ग्याण्ड परिषदले आगामी महिना बेलायतको अल्डरशटमा नागरिकता निरन्तरताको विषयमा नयाँ बहस थालनी गर्न लागेको हो ।
आरएनएए इल्यालन्ड परिषदका अध्यक्ष दीपक श्रेष्ठका अनुसार जनवरी ५ ताखिर आइतवार अल्डरशटमा आयोजना हुने कार्यक्रममा नेपाली नागरिकताको निरन्तरता र सम्पति अधिकार विषयमा अन्तरक्रिया हुन लागेको हो ।
गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कानूनविद् तथा सरोकार समूहले आआफ्ना विचार व्यक्त गर्ने एनआरएनए इंल्याण्ड परिषदले जनाएको छ । कार्यक्रममा अधिवक्ता सुरेन्द्र श्रेष्ठ, गोविन्द बेलवासे, व्यारिष्टर देवेन्द्र सिंह श्रेष्ठ, थर्कबहादुर रानाले आआफ्ना विचार राख्ने छन् । गैरआवासीय नेपाली संघ युकेकी अध्यक्ष पुनम गुरुङलगायत संघका पदाधिकारीको विषेश उपस्थिति रहने सो कार्यक्रममा सहभागी हुन बेलायतस्थित नेपाली समुदायसँग संघले आग्रह गरेको छ ।
