१५ चैत्र २०८०, बिहीबार
Follow Us

सभामुखबारे छलफल गर्न नेकपा अध्यक्ष प्रचण्ड बालुवाटारमा

sarusaru
१५ पुष २०७६, मंगलवार ०६:४९

काठमाडौं । सभामुख उम्मेदवार कसलाई बनाउने भन्नेबारे छलफल गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सभामुख चयनका लागि प्रतिनिधिसभाले आजबाट प्रक्रिया सुरु गर्न लागिरहेका बेला प्रचण्ड यसबारे छलफल गर्न बालुवाटार पुगेका हुन् ।

आइतबार नेकपाको सचिवालय बैठक बसे पनि सभामुखको एजेण्डामा छलफल नगरी प्रचण्ड चितवन गएपछि यसबारे निर्णय हुन सकेको छैन । नेताहरूले दुई अध्यक्षबीच पहिले छलफल भएर एउटै नाम सचिवालय बैठकमा पेस गर्न सुझाव दिएको नेकपाका एक नेताले बताए ।

अध्यक्ष प्रचण्ड पार्टी एकताअघि नै सभामुख पद तत्कालीन माओवादीको भागमा परेकाले अब कसलाई सभामुख बनाउने भन्ने प्रस्ताव आफूले ल्याउन पाउनुपर्ने अडानमा छन् । उनले पूर्व एमालेले राष्टपति, प्रधानमन्त्री र राष्टियसभा अध्यक्षजस्ता पद पाइसकेकाले सभामुखमा आफूले प्रस्ताव गरेको व्यक्ति हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले यसबारे केही बोलेका छैनन् । तर ओलीनिकट नेताहरूले अहिलेको चुनौतीपूर्ण अवस्थामा सुवास नेम्वाङको विकल्प खोज्न नहुने बताइरहेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पनि सुवास नेम्वालाई सभामुख बनाउने पक्षमा रहेको निकट स्रोतले जनाएको छ ।

उनीनिकट स्रोतले भन्यो, ‘उहाँसँग अहिले कसलाई सभामुख बनाउने भनेर सल्लाह मागिएको छैन । तर हिजो दलको उपनेता बनाउने बेला माधव नेपालले नै ओली र नेम्वाङबीच मध्यस्थ गर्नुभएको थियो । नेपालकै आग्रहमा नेम्वाङ उपनेता बन्नुभएको हो । अहिले पनि नेम्वाङ सभामुख बनाउने सन्दर्भमा उहाँको विमति होला जस्तो लाग्दैन ।’

नेकपा अध्यक्ष प्रचण्डमाथि सभामुख पद पूर्व एमालेलाई नछाडन् दबाव छ । पूर्वमाओवादीबाट अग्नि सापकोटाको मुख्य दाबेदारी देखिन्छ । ओनसरी घर्ती, देव गुरुङ, पम्फा भुसाललगायत पनि सभामुखका दाबेदार हुन् । सरकारका प्रवक्ता तथा नेकपा नेता गोकुल बास्कोटाले भने अब नेकपामा पूर्व र पश्चिमको विभाजन नरहेको बताए ।

उनले भने, ‘अब नेकपामा कोही पूर्वको छैन । सबै नेकपाका नेता–कार्यकर्ता हुन् । पार्टीले व्यक्तिको योग्यता, क्षमता र आवश्यकता हेरेर कसलाई कुन कामको जिम्मेवारी दिने भन्ने निर्णय गर्छ । हामीमा अब कोही पूर्व छैन । पूर्व एमाले पनि छैन,पूर्व माओवादी पनि होइन ।’

दुई अध्यक्षबीच सभामुखमा सहमति भएपछि सचिवालय बैठक बस्ने नेकपा स्रोतले जनाएको छ । दुई अध्यक्षबीच अमेरिकी सहयोग परियोजना एमसीसीको सन्दर्भमा पनि छलफल हुने बताइएको छ ।

अर्को साता बस्ने नेकपा केन्द्रीय कमिटीको बैठकको समेत एजेण्डाहरूमा छलफल गर्नुपर्ने प्रचण्डनिकट स्रोतले जनाएको छ । पुस २३ बाट बस्ने बैठकमा स्थायी कमिटीले परिमार्जनसहित पारित गरेको दस्तावेज सम्पादनसहित पेस हुनेछ ।
अनलाइनखबर