७ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रलाई नै अप्ठ्यारोमा पार्ने कार्य भइरहेको छः नेता कँडेल

sarusaru
१६ पुष २०७६, बुधबार ०७:५८

जनकपुरधाम । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सत्ता पक्षले राष्ट्रलाई नै अप्ठ्यारोमा पार्ने कार्य गरिरहेको आरोप लगाएका छन् ।

नेपाली काङ्ग्रेस धनुषा कार्यसमितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य कँडेलले सभामुख चयनको नाममा सत्तापक्षले प्रतिनिधिसभालाई स्वेच्छाचारी बनाएको आरोप लगाए ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका कँडेलले सभामुख चयनको आवरणमा सूचना टाँस गरी सदन सञ्चालन नहुनुले राष्ट्रलाई नोक्सान पुर्याइरहेको प्रसङ्ग उल्लेख गर्दै विधेयकलाई सदनमा प्रस्तुत हुन नदिने अवस्थाले जटिलता थपिँदै गएको बताए ।

उनले सरकारमा रहेसम्म मधेशको माग बिर्सिने र सरकारबाट बाहिरिएपछि क्रान्तिकारी कुरा गर्ने मधेशवादी दलको दोहोरो चरित्रप्रति गम्भीर हुनु आवश्यक भएको बताए ।

मधेशवादी दलका नेतामा सत्ता मोहका कारण सत्तामा जाने होडबाजी देखिएको उनले बताए । केन्द्रीय सदस्य कँडेलले बहुमतको निर्णयलाई स्वीकार नगर्ने अल्पमतको असन्तुष्टिले नेपाली काङ्ग्रेसमा विवाद देखिएको बताए ।

अल्पमत पक्षलाई पटकपटक सहमतिमा ल्याउने प्रयास गरिए पनि पार्टीलाई नै अनिर्णयको बन्दी बनाएको अवस्थाबाट निकासका लागि पार्टीले बहुमतबाट महाधिवेशन सन्दर्भका निर्णय गरेको उनले स्पष्ट पारे ।
डिसी नेपाल