५ जेष्ठ २०८१, शनिबार
Follow Us

यात्रुवाहक बसमा हाईस ठोकिँदा ४ को मृत्यु

नेपालब्रिटेन संवाददाता
१९ माघ २०७६, आईतवार ०६:५१

इटहरी । सुनसरीमा माइक्रो र यात्रुबस एक-आपसमा ठोक्किँदा चारजनाको मृत्यु भएको छ भने केही यात्रु घाइते भएका छन् । सुनसरीको तित्रीवनमा आज बिहान हुस्सु लागेको बेला माइक्रो र बस ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

काठमाडौं हिँडेको बा ५ ख ३१५७ नम्बरको हाईस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस आपसमा ठोक्किँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । घटनामा माइक्रोबसका चालक दीपक खडका, झापा भद्रपुरका ७५ वर्षीय हेमराज र उनी श्रीमती ६५ वर्षीया डोलमाया कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ । धादिङ घर भएका चालक खड्कासहित कोइराला दम्पतीको घटनास्थलमै ज्यान गएको हो भने । घाइते गरिमा गौतमको उपचारको क्रममा धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बसमा सवार ३ जनासहित १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । होमबहादुर कार्की, टंकप्रसाद काफ्ले र सावित्री राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको हो । घाइतेहरुको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, एपेक्स हस्पिटल इटहरी र गोल्डेन हस्पिटल विराटनगरमा उपचार भैरहेको छ ।