१६ चैत्र २०८०, शुक्रबार
Follow Us

लौ हेरौं त एमाले आन्दोलनमा कसरी जाँदो रहेछ ?

नेपालब्रिटेन डट कम्
१५ मंसिर २०७३, बुधबार ०५:१२

रामनरेश राय, वरिष्ठ नेता, तराई मधेश सद्भावना पार्टीको

सरकारले हिजो मंगलबार संसदमा संशोधन प्रस्ताव दर्ता गरेको छ । संशोधन प्रस्तावबारे तराई मधेशी मोर्चाको गठबन्धनले कुनै औपचारिक धारणा बनाइसकेको छैन । यद्यपि सरकारले उनीहरुसँगै गरेको छलफलपछि संशोधन प्रस्ताव संसदमा दर्ता गराएको हो । प्रस्तावको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद र बाहिर प्रतिवाद गर्ने स्पष्ट पारिसकेको छ । मधेशी मोर्चा गठबन्धनको धारणा, एमालेले दिएको अभिव्यक्तिबारे तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायसँग गरिएको कुराकानी–

० सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ । यसलाई तपाईंको पाटी र मोर्चाले कसरी लिएको छ ?
– सरकारले प्रस्ताव गरेको संशोधन प्रस्तावको अन्तरवस्तु हेरिसकेपछि मोर्चा र गठबन्धनको औपचारिकले त्यसको धारणा आउँछ । सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्तावमा मोर्चा र गठबन्धनको कुनै धारणा बनेको छैन ।

० तपाईंहरुकै छलफल र सल्लाह गरेर प्रस्ताव दर्ता भएको होइन र ?
– लामो छलफल निश्चित रुपले भएको हो, तर संशोधन प्रस्तावको अन्तरवस्तुमा हामी निष्कर्षमा पुगेका छैनौं । ३६ पटकभन्दा बढी हामी वार्तामा बस्यौं, तर हाम्रो छलफल निष्कर्षमा पुगेको थिएन ।

० तपाईंहरुकै मागलाई सम्बोधन गर्न संशोधन प्रस्ताव ल्याइएको भनिन्छ नि ?
– हो, अन्तरवस्तु पहिले हेर्छौ, त्यहाँ के छ ? हेरिसकेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र त्यसमा आबद्ध गठबन्धनको औपचारिक धारणा आउँछ । अघिल्लो सरकारले गरेको संविधान संशोधनले मोर्चा गठबन्धनको माग सम्बोधन भएन । त्यस्तै यो सरकारले ल्याएको चारवटा विधेयकको अन्तरवस्तु नहेरिकन भन्न सकिँदैन । मोर्चा गठबन्धनको औपचारिक बैठकले धारणा निर्धारण गर्छ ।

० संशोधनको प्रस्ताव फेल भए पनि मोर्चा पनि चुनावमा जान्छ भनिएको छ नि ?
– मोर्चा गठबन्धन चुनावसँग भागेको होइन । जबसम्म संविधानको संशोधन हुँदैन, आन्दोलनकारीको जुन माग हो, त्यो माग यदि पूरा हुँदैन भनेदेखि हामी निर्वाचनमा कसरी जान्छौं ? नेपाली जनताको माग अथवा मुद्दा सम्बोधन हुन्छ भने रातिको १२ बजे पनि हामी सहमतिमा जान तयार छौं, निर्वाचनमा जान तयार छौं ।

० मधेशकै जनताले यो संशोधन रुचाएका छैनन भनिन्छ नि ?
– योभन्दा अगाडि जुन आन्दोलन भएको थियो, के त्यसमा जनता थिएनन् ? मधेश, थारु, हिमाल पहाडमा बस्ने जनता होइनन, त्यो आन्दोलन होइन ? हजारौं जनता आन्दोलनमा उत्रिए, दर्जनौं जनताले साहदत दिए, सयौं जनता अपांग भएर बसेका छन्, के तिनीहरु जनता होइनन ?

० एमालेले राष्ट्रिय हित विपरित छ भनेको छ नि ?
– राष्ट्र भनेको एमाले मात्र हो ? हामीले पनि राष्ट्रिय हितकै लागि त्यही भनिरहेका छौं । वर्ष दिनभन्दा बढी भइसक्यो, देशमा संविधान कार्यान्वयन भएको छैन । जुन संविधान उहाँहरुले बनाउनु भयो, त्यो कार्यान्वयन भएको छैन, यदि संविधान संशोधन हुँदैन भने, यो मुलुकमा ७४ साल माघ ७ गतेभित्र तीनवटा निर्वाचन कुनै पनि हालतमा हुँदैन । एमालेले सडक र सदन दुवैमा केको लागि आन्दोलन गर्न लागेको हो उहाँहरुलाई सोध्नु होस् । जनताका लागि बनाइएको संविधान त्यही जनताले पत्याइरहेका छैनन् भने संशोधन गर्नुपर्छ । के त्यो बाइबल र कुरान हो र संशोधन नै गर्न नहुने ? मधेशी, थारु, जनजाति नेपाली जनता होइन ?