२५ बैशाख २०८१, मंगलवार
Follow Us

बेलायतमा भन्दा अमेरिकामा मृत्युदर कम

नेपालब्रिटेन संवाददाता
१३ बैशाख २०७७, शनिबार ०६:१७

लन्डन । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ हजार हजार २ सय नाघेको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा अमेरिकामा ३ हजार अमेरिकी नागरिकको मृत्यु भएको हो । योसँगै मृत्यु हुनेको संख्या ५२ हजार २ सय ८५ पुगेको छ ।

अमेरिकामा तीन महिनाको अवधीमा कोरोना संक्रमणबाट धेरैको संख्यामा मानिसको मृत्यु भएको हो । अमेरिकाका फेब्रुअरी ६ मा कोरोना भाइरसका कारण पहिलो व्यक्तिको मृत्यु भएको थियो ।

पछिल्लो केही हप्तादेखि दैनिक दुई हजारको हाराहारीमा मानिसको ज्यान जाने गरेको छ । सबैभन्दा बढी प्रभावित भएको न्यूयोर्कको न्यूयोर्कमा अहिलेसम्म कम्तिमा १६ हजार ६ सय ४६ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा ९ लाख २४ हजार कोरोना संक्रमित भइसकेका छन् ।

तर विश्वका अरू देशको आँकडाको तुलनामा अमेरिकामा कोरोनाका कारण हुने मृत्युदर कम रहेको छ । जनसंख्याको आधारमा स्पेन, इटली, फ्रान्स, बेल्जियम र बेलायतमा भन्दा अमेरिकामा मृत्युदर कम देखिएको हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना भाइरस संक्रमितको मृत्युदर प्रति एक लाखमा १५ जना मात्र रहेको छ ।

त्यस्तै इटलीमा प्रति एक लाखमा ४२, स्पेनमा ४७, फ्रान्समा ३२, वेल्जियममा ५६ र बेलायतमा २८ जना रहेको छ । विश्वभर हालसम्म एक लाख ९७ हजारजनाको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या २८ लाख २७ हजार भन्दा बढी पुगेको छ ।