३ असार २०८१, आईतवार
Follow Us

बागलुङमा पहिरोले पुरिएर ३ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
३१ श्रावण २०७७, शनिबार १२:४०

बागलुङ । बागलुङको निसिखोला गाउँपालिका वडा नं. ५ र वडा नं. ३ मा पहिरोले घर पुर्दा दुई बालक र एक बृद्धाको ज्यान गएको छ ।

शुक्रवार राति परेको अविरल वर्षासँगै झरेको पहिरोले निसिखोला गाउँपालिका ५ कार्कीगाउँका हिराबहादुर विकको घर पुर्दा दुई बालकको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा हिरा बहादुर का १४ वर्षीय छोरा बिरेन्द्र विक र मामाघर आएका नाति ६ वर्षीय प्रवेश विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते अवस्थामा उद्धार गरिएकी हिरा बहादुर की ५२ वर्षिया श्रीमती दिलसरा विकको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभएको छ।

त्यस्तै निसीखोला गाउँपालिका वडा नं. ३ धारखर्कमा पनि पहिरोले घर पुर्दा ७९ वर्षीय बलि कामीको मृत्यु भएको छ । उनका ८४ वर्षीय श्रीमान् भने सकुशल रहेका निसिखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिनुभएको छ ।