२३ बैशाख २०८१, आईतवार
Follow Us

कोरोना कहर : विप्रेषण आय सवा चार अर्बले घट्यो

नेपालब्रिटेन संवाददाता
८ भाद्र २०७७, सोमबार १५:१३

कोरोना कहरका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा विप्रेषण आयमा रु चार अर्ब २४ करोडले गिरावट आएको छ । आर्थिक वर्ष २०७५÷७६ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई रु ८ खर्ब ७९ अर्ब २७ करोड रहेको थियो । यस्तै आर्थिक वर्ष २०७६÷७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले कमी आई रु आठ खर्ब ७५ अर्ब ३ करोड कायम भएको छ ।

आव २०७५÷७६ को तुलनामा २०७६-७७ मा मात्रै रु चार अर्ब २४ करोडले घटेको हो । वैदेशिक रोजगारीका लागि नेपाली कामदार पुगेका विभिन्न श्रम गन्तव्य लामो समयदेखि बन्द हुँदा समेत विप्रेषण आयमा खासै प्रभाव नपरेको पाइएको हो ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आव २०७६-७७ को वार्षिक विवरण अनुसार विप्रेषण आयमा खासै प्रभाव नपरेको पाइएको हो । आव २०७६-७७ मा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.८ प्रतिशतले बढेको थियो । आव २०७६-७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्ष यस्तो संख्या ३२.६ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा वर्षमा ३४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या ५.४ प्रतिशतले बढेको थियो । आव २०७६-७७ मा खुद ट्रान्सफर आयमा १.३ प्रतिशतले कमी आई रु नौ खर्ब ८२ अर्ब २२ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आय १५.० प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह ७.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.२ प्रतिशतले बढेको थियो ।