१९ बैशाख २०८१, बुधबार
Follow Us

४०४७ कोरोना संक्रमित थपिए, १४७३ जना संक्रमणमुक्त

नेपालब्रिटेन संवाददाता
२६ आश्विन २०७७, सोमबार ११:१४

काठमाडौं । कोरोना भाइरसका ४ हजार ४७ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१४ हजार ५३० पीसीआर परीक्षण गर्दा ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । सोमबार देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० रहेको छ ।

जसमध्ये संस्थागत आइसोलेसनमा १३ हजार ९२३ जना र होम आइसोलेसनमा १९ हजार ९५७ जना रहेका छन् । सक्रिय संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालहरुमा चाप निकै बढेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या १ हजार ४७३ रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ७७ हजार २७७ जना मुक्त भैसकेका छन् ।

काठमाडौं उपत्यकामा थप २२८३ जनालाई संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा सोमबार पनि सबैभन्दा धेरै संक्रमित थपिएका छन् । उपत्यकामा २ हजार २८३ नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा सबैभन्दा धेरै १ हजार ८८८ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी ललितपुरमा २७७ जना र भक्तपुरमा ११८ जना नयाँ संक्रमित थपिएका छन् ।

थप ९ को मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १४७३ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७७ हजार २७७ पुगेको छ ।