३१ बैशाख २०८१, सोमबार
Follow Us

जुन २३ देखि दुबई–काठमाण्डौ उडान हुने

नेपालब्रिटेन संवाददाता
१ असार २०७८, मंगलवार १३:४६

काठमाडौं । नेपाल एयरलाइन्सले आउँदो जुन २३ देखि दुबई–काठमाण्डौ एकतर्फी उडान सुरु गर्ने भएको छ । कोरोना महामारीको कारण यूएईमा रोकिएका श्रमिकलाई लक्षित गरी उडान सुरु गर्न लागिएको एयरलाइन्सले जनाएको छ। जुन २३ पछि अको उडान ३० जुनमा हुने तय भएको छ ।

यूएईमा करार अवधि सकिएका, भिजिट भिसामा आएर अड्किएका र अत्यावश्यक कामले घर फर्किनु पर्ने नेपालीहरू बढ्दै गएकाले एकतर्फी भए पनि उडान सुरु गर्न लागेको एयरलाइन्सका युएई प्रमुख टिकाराम पङ्गेनीले जानकारी दिनुभयो । एयरलाइन्सको वाइड बडी जहाजमार्फत आउँदो जुन २३ र ३० तारिख दुबईदेखि काठमाण्डौको उडान भर्ने पक्का भएको र सोही अनुसार टिकट बुकिङ खुल्ला गरिएको नेपाल एयरलाइन्सको युएई जीएसएका प्रतिनिधि साजु पौलले जानकारी दिनुभयो ।

यूएईबाट काठमाण्डौका लागि सातामा दुई उडान भए पनि जहाजले नेपालबाट भने यात्रु ल्याउन पाउने छैन । यूएईले लगाएको प्रतिबन्धका कारण जहाज नेपालबाट रित्तै युएई आउने छ । विशेष नियमित उडान भए पनि एकतर्फी मात्रै यात्रु ल्याउन पाउने भएकाले भाडा दर महँगो भएको एयरलाइन्सको भनाइ छ ।

दुबई काठमाण्डौ एकतर्फी उडानको मूल्य झन्डै ५० हजार नेपाली रुपैयाँ रहेको यहाँ रहेका ट्राभल्सहरूले जनाएका छन् । त्यही पैसामा पनि सजिलै टिकट पाउन नसकिएको यात्रुहरूको गुनासो छ ।