हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्रीले आज छ मन्त्री तथा चार राज्यमन्त्री थप गर्नुभएको हो । प्रदेशका नेकपा (एमाले)का संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले नवनियुक्त मन्त्रीले आजै शपथग्रहण गर्नुहुने जानकारी दिनुभयो ।
मन्त्रिपरिषदमा एक मन्त्रीसहित दुई राज्यमन्त्री महिला हुनुहुन्छ । आर्थिक मामिला तथा योजना मन्त्रीमा रचना खड्का, आन्तरिक मामिला तथा कानून मन्त्रीमा डा अजयक्रान्ति शाक्य, भौतिक पूर्वाधार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा शान्तिप्रसाद पौडेल, सामाजिक विकास मन्त्रीमा विजयराज सुवेदी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर लामा र स्वास्थ्य मन्त्रीमा प्रदीप कटुवाल नियुक्त हुनुभएको छ ।
प्रदेश सरकारका प्रवक्ता केशवराज पाण्डेका अनुसार भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा जीवन खड्का, सामाजिक विकास राज्यमन्त्रीमा जुनेली श्रेष्ठ, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा सरस्वती बाटी र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा बद्री मैनाली नियुक्त हुनुभएको छ । सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयलाई अलग गरिएको छ ।