२९ जेष्ठ २०८३, शुक्रबार
Follow Us

नागरिकताको मुद्दामा सर्वोच्च अदालतको फैसला नजिर नबन्ने

नेपालब्रिटेन संवाददाता
२२ श्रावण २०८२, बिहीबार १२:३९

काठमाडौं । नागरिकता प्राप्तिसम्बन्धी सर्वोच्च अदालतले गरेको फैसला नजिरका रुपमा स्थापित नहुने बिहीबार आयोजित एक कार्यक्रममा बताइयो । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) को सहकार्यमा सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयद्वारा नागरिकतासम्बन्धी मुद्दाहरुको फैसला कार्यान्वयनको अवस्था र चुनौति विषय छलफल कार्यक्रममा यस्ता मुद्दा व्यक्तिकरण हुने भएकाले नजिरका रुपमा स्थापित नहुने बताइयो ।

कार्यक्रममा नागरिकता मुद्दामा ११ वर्षपछि सर्वोच्च अदालतले गरेको फैसला गरेको दुई वर्ष बितिसक्दा पनि कार्यान्वयन नभएको समस्या नागरिकता प्रभावित कुमार जोशीले सुनाए । आफू सडक बालक भएको र सर्वोच्च अदालतले काठमाडौं जिल्ला प्रशासनमा नागरिकता दिनु भन्ने फैसला गरेको तर कागजात ललितपुरको भएकाले अहिलेसम्म नागरिकता प्राप्त गर्न नसकेको उनको भनाइ थियो ।

फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक जनकप्रसाद शर्माले नागरिकताको विगत, वर्तमान, अन्य देशको अभ्यास र सर्वोच्च अदालतले नागरिकतासम्बन्धी गरेको फैसलाबारे प्रस्तुति दिएका थिए । नागरिकता पीडित जोशी र निर्देशक शर्माको प्रस्तुतिमा छलफल केन्द्रित थियो ।

सर्वोच्च अदालतका रजिष्ट्रार मानबहादुर कार्कीले सर्वोच्च अदालतको फैसला कार्यान्वयमा समस्या रहेको बताए । उनले यस्ता समस्या आपसी समन्वयमा समाधान खोज्नुपर्ने उनको भनाइ थियो । अमेरिकामा सर्वोच्च अदालतको फैसला कानुनसरह हुने उदाहरण प्रस्तुत गर्दै नेपालमा ऐन, कानुनको उल्झन देखाएर फैसला कार्यान्वयन नभएका धेरै उदाहरण भएको बताए । सर्वोच्चको फैसला देशको मूल कानुन संविधानमा आधारित रहेर आउने भएकाले यसको कार्यान्वयनमा कानुनी अड्चन देखाउन नहुने बताए ।

यस्तै सर्वोच्च अदालतका फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहले फैसला कार्यान्वयन निकाय र सर्वोच्चको फैसलाबीच निर्देशनालयले पुलको काम गर्ने बताए । व्यक्तिलाई राज्यविहिन बनाउनु हुँदैन भन्ने मान्यतामा आधारित रहेर काम गर्न उनले सुझाव दिए ।

उच्च अदालतका सहन्यायाधीवक्ता ईश्वरीप्रसाद ढकालले संविधान हेरेर फैसला आउने भएकाले कानुन र नियमावली हेरेर नअल्झिन सुझाव दिए । उनले प्रकृया पूरा गर्न, अनुसूचिको फर्म संशोधन गर्न र स्थानीय निकायका पदाधिकारी सेन्सटाइज गरेर भए पनि नागरिकता मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्यालले कानुनमा निरन्तर सुधार गर्नुपर्ने औल्याए । संविधानतः सर्वोच्चको फैसला कानुन र ऐनमा समन्वय गर्दा सबै किसिमका समस्या हल हुने बताए । प्रकृयालाई सरलीकृत गर्दै लैजानुपर्नेमा उनको जोड थियो ।

एफडब्लुएलडकी वरिष्ठ अधिवक्ता मीरा ढुंगानाले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नहुँदा विभिन्न खालका चुनौति भएकाे बताइन् । उनले सर्वोच्च अदालतको फैसलालाई नजिर नमान्दा फैसला भएर पनि नागरिकता प्राप्त नभएका धेरै घटना एफडब्लुएलडीले सुरक्षित राखेको उनले बताइन् ।

भक्तपुर र काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीले सर्वोच्च अदालतको फैसला क्षेत्रअधिकारभन्दा बाहिर गएर फैसला गरेका कार्यान्वयनमा समस्या रहेको बताए । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी भण्डारीले प्रकृया पूरा भएकोलाई नागरिकता प्रमाणपत्र जारी गर्न कुनै समस्या नरहेको बताए । उनले प्रकृया पूरा नभएहरु अदालत जाने र अदालतले क्षेत्राअधिकार बिर्सेर फैसला लिएर आएको बताए ।

काठमाडौं जिल्लाका सहायक सिडिओ पूर्णप्रसाद भट्टराईले स्थानीय तहसँग समन्वय गरेर धेरै समस्या समाधान गरेको बताए । उनले भने, ‘केही त्यस्ता समस्या छन्, जुन कानुन अभावमा पेन्डिङमा रहेका समस्या पनि धेरै छन् ।’

सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले छलफल कार्यक्रमको उद्देश्य, धारणाको विकास गर्ने अवसर र भावी दिनमा कानुन तर्जुमा गर्न सजिलो होस् भनेर कार्यक्रम आयोजना गरिएको बताए । सर्वोच्च अदालतले नागरिकता मुद्दालाई उच्च प्राथमिकतामा राखेको बताए । सामज्यता भएन भने पीडितले कहिल्य न्याया नपाउने भएकाले फैसला कार्यान्वयन निर्देशनालयले सहजिकरण गर्ने उनले बताए ।

फैसला कार्यान्वयन निर्देशनालयकी निर्देशक पुनम काफ्लेले नागरिकता केवल एउटा प्रशासनिक दस्तावेज वा कानुनी औपचारिकता मात्र नभएर हरेक नागरिकको पहिचान, सम्मान, अधिकार र अवसरको प्रवेशद्वार भएको बताइन् । ‘नागरिकता प्राप्तिबाट व्यक्तिको कानुनी अस्तित्व पुष्टि हुन्छ र यसमार्फत् राजनीति, सामाजिक, आर्थिक र सांस्कृतिक जीवनका विभिन्न पक्षमा समान अवसर र अधिकारको प्रत्याभूति हुन्छ’ उनले भनिन्, ‘नागरिकतासम्बन्धी कुनै पनि मुद्दामा न्यायालयले प्रदान गरेको फैसला केवल कानुनी आदेश मात्र नभइ व्यक्तिको जीवनमा गहिरो प्रभाव पार्ने संवैधानिक विषय हो ।’

धेरै पढिएको

slot gacor