२३ भाद्र २०८२, सोमबार
Follow Us

सरकारको बर्खास्ती र ताजा जनादेश रास्वपाको माग

नेपालब्रिटेन संवाददाता
२३ भाद्र २०८२, सोमबार १३:१३

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको बर्खास्ती र ताजा जनादेशको माग गरेको छ । पार्टी सचिवालय बैठक बैठकपछि महासचिव कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा उक्त माग गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ- ‘जेनजीद्वारा आयोजित आजको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको रास्वपाले भर्त्सना गरेको छ । वर्तमान सरकारको औचित्य पुर्णत: समाप्त भइसकेको भन्दै प्रधानमन्त्रीको तत्काल राजीनामा गर्नुपर्छ ।

रास्वपाको विज्ञप्ति जस्ताको त्यस्तै
‘देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा नेपालको पछिल्लो पुस्ता जेनजीद्वारा आयोजित आजको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ ।

निहत्था नवयुवाहरूले गरेको शान्तिपुर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो प्रहरमै सरकारले गरेको आमहत्याको हामी घोर निन्दा गर्दै चेतावनी दिन्छौँ: आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ ।

वर्तमान सरकारको औचित्य पुर्णत: समाप्त भइसकेको परिप्रेक्षमा प्रधानमन्त्रीको तत्काल राजीनामा माग्दछौँ । साथै घटनाको निश्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गरि गृहमन्त्री लगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ ।

नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै ताजा जनादेश (Early Election) को माग गर्दछौँ ।

सरकारबाट हत्या गरिएका जेनजी योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सबैको निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्दछौँ ।’

आगामी रोडम्याप तय गर्न पार्टी सचिवालय बैठक जारी छ ।

धेरै पढिएको