१४ आश्विन २०८२, मंगलवार
Follow Us

एकताको तयारीमा रहन एनआरएनए अध्यक्ष डा. बद्री केसीको आग्रह

नेपालब्रिटेन संवाददाता
११ आश्विन २०८२, शनिबार २०:०३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले संस्थाभित्र विगत केही वर्षदेखिका विवाद छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।

शनिबार सम्पन्न गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले आउँदो अक्टोबर ११ तारिख, एनआरएनए डे को अवसर पारेर “एकताको लागि विशेष घोषणा” हुने अपेक्षा व्यक्त गरे।

डा. केसीका अनुसार विवाद हाल सर्वोच्च अदालतमा विचाराधीन छ। उनले भने, “अदालतले फैसला दिन सक्छ तर संस्थाभित्रको विभाजन कायमै रहन सक्छ। त्यसैले दीर्घकालीन एकताको लागि हामी महेश श्रेष्ठजीसँग छलफलमा छौँ, वार्ता सकारात्मक छ।”

उनले थपे, आइसीसीभित्र सहमति बनेपछि विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) सम्बन्धी विषयमा पनि छलफल अघि बढ्नेछ।
देश कठिन परिस्थितिबाट गुज्रिरहेको अवस्थामा गैरआवासीय नेपालीहरुले विवादमा समय खर्च नगरी राष्ट्र निर्माणका लागि एकजुट हुनुपर्ने आवश्यकता उनले औंल्याए।

यसअघि संघले अध्यक्ष डा. केसीलाई एकताको विषयमा निर्णय गर्ने पूर्ण अधिकार दिएको थियो। उनले श्रेष्ठ पक्षसँग विभिन्न मोडालिटीमा वार्ता भइरहेको जानकारी पनि बैठकमा प्रस्तुत गरे।

बैठकमा संघका सल्लाहकार, केन्द्रीय पदाधिकारी, क्षेत्रीय संयोजक तथा आइसीसी सदस्यहरूको उपस्थिति थियो।

धेरै पढिएको