काठमाडौं । उच्च अदालत पाटनले काठमाण्डू महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कायमै राख्ने आदेश जारी गरेको छ ।
न्यायाधीश डालकुमार खड्का र दीपक खनालको इजलासले बुधबार आदेश जारी गर्दै पाण्डेलाई निलम्बन गर्ने प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको निर्णय कानूनसम्मत भएको ठहर गरेको हो ।
अदालतले आफ्नो निलम्बनविरुद्द पाण्डेले दायर गरेको रिट निवेदन खारेज गरेको छ । योसँगै पाण्डे पुनः पदमुक्त भएका छन् ।
मेयर बालेन्द्र साह र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंबीच अधिकार विवाद चलेको थियो । मेयर शाहले गुरागाईंलाई आफ्नो आदेश नमानेको र अनियमितता गरेको आरोप लगाउँदै कार्यकक्ष प्रवेश रोक लगाएका थिए । उपमेयर सुनिता डंगोल, वडाध्यक्षहरू र कर्मचारीको सहयोगमा गुरागाईं कार्यकक्ष प्रवेश गर्दा नगर प्रहरीले अवरोध गरेको थियोे ।
उक्त घटनापछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पदीय आचरणविपरीत कार्य गरेको आरोप लगाउँदै नगर प्रहरी प्रमुख पाण्डेलाई निलम्बन गर्ने निर्णय गरेका थिए ।
पाण्डेले आफूलाई गैरकानूनी रूपमा पदबाट हटाइएको दाबी गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका थिए । अदालतले प्रारम्भिक चरणमा अन्तरिम आदेश जारी गर्दै उनलाई काममा फर्कन अनुमति दिएको थियो ।