२५ कार्तिक २०८२, मंगलवार
Follow Us

मधेसको अवस्था हेरेर बाटोमै सपथ लिन बाध्य भएँ : मुख्यमन्त्री यादव

नेपालब्रिटेन संवाददाता
२५ कार्तिक २०८२, मंगलवार ०५:१३

काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले बाटोमै भएको आफ्नो शपथग्रहणलाई ‘बाध्यात्मक परिस्थिति’ को उपज र संवैधानिक भएको दाबी गरेका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी बिरामी भई काठमाडौंतर्फ लागेपछि प्रदेशको वर्तमान अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय लिनुपरेको उनको स्पष्टीकरण छ ।

मुख्यमन्त्री यादवले भने, ‘प्रदेश प्रमुख बिरामी भएर काठमाडौं हिँडिसक्नुभयो भन्ने थाहा पाएपछि मैले फोन गरें- माननीय प्रदेश प्रमुखज्यू तपाईं मलाई शपथ नखुवाई जान सक्नुहुन्न । उहाँले म बिरामी भएँ, कार्यवाहक मुख्यमन्त्रीज्यूलाई भनेको छु भन्नुभयो । नियुक्ति दिने अनि शपथ नगराउने? शपथग्रहण गराएर जानुपर्‍यो । तपाईं कहाँ हुनुहुन्छ, त्यहीँ आउँछु, त्यहीँ शपथ ग्रहण गराउनुस् भन्ने परिवेशमा भएको शपथग्रहण हो ।’

मुख्यमन्त्री यादवका अनुसार, नियुक्त मुख्यमन्त्रीले शपथग्रहण नगरेसम्म कार्यवाहक मुख्यमन्त्री नै नेतृत्वमा रहने भएकाले अहिलेको असामान्य स्थितिलाई ध्यानमा राखी आफू शपथग्रहणका लागि बाटोमै पुगेको बताए । उनले मुख्यमन्त्रीको शपथग्रहण एकै ठाउँमा हुनुपर्छ भन्ने कुनै संवैधानिक वा परम्परागत बाध्यता नरहेको तर्क गरे। उनले विगतका उदाहरण दिँदै भने, ‘सतिश सिंहजीको शपथग्रहण कहाँ भएको थियो ? सरोज यादवजीको शपथग्रहण कहाँ भएको थियो ? मुख्यमन्त्रीजीको कार्यालय अगाडिपट्टि भएको होइन ? त्योभन्दा अघिल्लो मुख्यमन्त्रीजीको कहाँ भएको थियो ? प्रदेश कार्यालयमा भएको थियो । तीन जना मुख्यमन्त्रीको शपथग्रहण फरक-फरक ठाउँमा भएकै हो त। एकै ठाउँमा हुनुपर्ने जरुरी छैन नि !’

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत पाउने स्थिति नदेखेपछि कात्तिक २२ गते प्रदेश सभामा राजीनामा घोषणा गरेका थिए ।त्यसलगत्तै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सबैभन्दा ठूलो दलको हैसियतमा एमाले दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

यद्यपि, प्रदेश प्रमुखको यो कदमको दलका नेता र राजनीतिक विश्लेषकहरूले चर्को आलोचना गर्दै आएका छन् । कतिपयले यसलाई संघीयता नै खतरामा पार्ने खेलको संज्ञा दिएका छन् । तर, नवनियुक्त मुख्यमन्त्री यादवले ‘बाध्यात्मक अवस्थामा बनेको मुख्यमन्त्री’ बाट संविधान, राष्ट्रियता, राष्ट्रिय अखण्डता र संघीय लोकतान्त्रिक गणतन्त्रमा कुनै आघात नहुने बताएका छन् ।

स्वास्थ्य उपचारका लागि काठमाडौं जान्छु भनेर हिँडेकी प्रदेश प्रमुख सुवेदीले महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित पानस होटलमा सोमबार बिहानै यादवलाई मुख्यमन्त्री पदको शपथग्रहण गराएकी थिइन् । यो घटनाको चौतर्फी आलोचना भएपछि सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई पदबाट हटाउँदै उनको स्थानमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

धेरै पढिएको