काठमाडौं । ओखलढुंगाको चिशङ्खुगढी गाउँपालिका-६, भदौरेमा मंगलबार राति एक दम्पतीको हत्या भएको छ । घरमा एक्लै बस्दै आएका ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगरको अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको हो ।
बुधबार बिहान निकै अबेरसम्म पनि दम्पती घर बाहिर ननिस्किएपछि छिमेकीले चासो राखेका थिए । बाहिरबाट बोलाउँदा कुनै जवाफ नआएपछि शंका लागेर भित्र हेर्दा दुवै जना मृत अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । छोराछोरी घर बाहिर रहेका कारण उनीहरू घरमा एक्लै बस्दै आएका थिए ।
घटनाको प्रकृति गम्भीर देखिएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले कोशी प्रदेश प्रहरी कार्यालय, धरानको केनाइन शाखाबाट तालिमप्राप्त कुकुर (ट्र्याकर डग) झिकाएको छ । प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको नेतृत्वमा खटिएको टोलीले घटनास्थल सिल गरेर सुक्ष्म अनुसन्धान अघि बढाएको छ । ‘राति नै कुकुर घटनास्थलमा ल्याइपुर्याइएको छ। प्रारम्भिक जाँचमा धारिलो हतियार प्रयोग भएको देखिएको छ,’ इन्सपेक्टर भट्टराईले भने, ‘अहिले हामी शंकास्पद व्यक्तिहरूमाथि निगरानी गरिरहेका छौं, तर कसैलाई पक्राउ गरिसकिएको छैन ।’
कुकुरको सहायताले ‘क्राइम सिन’ को विस्तृत जाँच नसकिएसम्म शव नउठाइने प्रहरीले जनाएको छ । केही महिनाअघि मात्रै सिद्धिचरण नगरपालिका-४ मा ५२ वर्षीया रत्नकुमारी कटवाल कार्कीको पनि यसैगरी घरभित्रै हत्या भएको थियो । उक्त घटनाका दोषी अझै पत्ता लाग्न सकेका छैनन् ।