काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँगको चुनावी प्रतिस्पर्धाबाट राष्ट्रिय राजनीतिमा चर्चा कमाएका युवा इन्जिनियर सागर ढकालले नयाँ भनिएका राजनीतिक शक्तिहरूप्रति पनि निरन्तर खबरदारी आवश्यक रहेको औँल्याएका छन् ।
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीलाई लिएर आलोचना भइरहेका बेला ढकालले हतारमा समीकरण मिलाउन खोज्दा केही प्राविधिक त्रुटि भएको स्वीकार गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङलगायतका व्यक्तित्वहरूलाई जोड्ने हतारोमा सूची तयार पार्दा कमजोरी भएको बताएका हुन् । ‘हिजो हतार–हतार कुलमान, रवि र बालेन सबैलाई मिलाउँदा समानुपातिक सूचीमा रास्वपाबाट केही त्रुटिहरू भएका छन्,’ ढकालले लेखेका छन्, ‘मिडियामा आएजस्तो सबै जिल्ला जे देखिन्छ, त्यसमा सुधार हुँदैछ। सम्भवतः अझै सच्याउन मिल्ने अवस्था छ ।’
नेतृत्वले गल्ती नै नगर्ने भन्ने नहुने तर गल्ती थाहा पाएपछि त्यसलाई सच्याउनु ठूलो कुरा भएको उनको तर्क छ। उनले जनस्तरबाट आएको असन्तुष्टिलाई सम्बोधन गर्न रवि, बालेन र कुलमानको टिम तयार हुने विश्वास समेत व्यक्त गरेका छन् । आफूले पनि सम्बन्धित ठाउँमा जनताको गुनासो पुर्याउने उनले प्रतिबद्धता जनाएका छन् । ढकालले ‘नयाँ’ राजनीतिक शक्ति भन्दैमा आँखा चिम्लिएर विश्वास नगर्न आम नागरिकलाई अपिल गरेका छन्। लोकतन्त्रमा प्रश्न सोध्न छोडेको दिनदेखि नेतृत्व बिग्रने खतरा औँल्याउँदै उनले सचेत गराएका छन् । ‘मेरो जनतालाई बिन्ती-नयाँ भनेर अन्धविश्वास नगरिदिनुहोस् है,’ उनले कडा शब्दमा चेतावनी दिँदै लेखेका छन्, ‘सबैलाई प्रश्न नसोध्ने हो भने बालेन, कुलमान र रवि पनि ओली, प्रचण्ड र देउवा हुन धेरै समय कुर्नु पर्दैन ।’
उनले ‘मौन भक्ति’ ले देश नबन्ने ठोकुवा गर्दै चाहे नयाँ हुन् वा पुराना, सबैलाई जवाफदेही बनाउनै पर्नेमा जोड दिएका छन् । सबै मिलेर, जनताको आवाज सुनेर र जवाफदेही भएर अघि बढे मात्र देश बन्ने उनको निष्कर्ष छ ।