काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले निर्वाचन आयोगमा बुझाइएको पार्टीको समानुपातिक बन्दसूचीप्रति कडा असन्तुष्टि जनाएकी छिन् । पार्टीले अँगालेको विधि र व्यवहारबीच तालमेल नमिलेको भन्दै उनले नेतृत्वको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएकी हुन् ।
समानुपातिक निर्वाचन प्रणालीको मर्म नै ‘पहुँच नभएका तर सक्षम’ वर्गलाई मूलधारमा ल्याउनु रहेको जिकिर गर्दै डा. कार्कीले रास्वपाको हालको सूचीले त्यो मर्मलाई कुल्चिएको आरोप लगाएकी छिन् । सामाजिक सञ्जालमा एक विस्तृत टिप्पणी लेख्दै उनले पार्टीका उच्च पदस्थ पदाधिकारी र सचिवालय सदस्यहरू नै समानुपातिकको सुरक्षित घेराभित्र बस्न खोज्नु कायरता भएको सङ्केत गरेकी छिन् ।
डा. कार्कीले समानुपातिकको अवधारणा भौगोलिक विकटता र सीमान्तकृत समुदायको प्रतिनिधित्वका लागि ल्याइएको स्मरण गराएकी छिन् । उनले लेखेकी छिन्, ‘सूचीले विपन्नलाई ठाउँ दिनुपर्थ्यो, कर्णाली र सुदूरपश्चिमको आवाज बोल्नुपर्थ्यो। तर, पार्टी नेतृत्वका आफन्त र शक्ति केन्द्रको वरिपरि रहेकाहरू नै सूचीको अग्रपंक्तिमा हुनुले यस प्रणालीको औचित्यमाथि नै प्रश्न खडा गरेको छ ।’
रास्वपाले उम्मेदवार छनोटका लागि भन्दै गरेको ‘प्राइमरी इलेक्सन’ (प्रारम्भिक मतदान) को नतिजालाई समेत बन्दसूची तयार गर्दा लत्याइएको उनको आरोप छ । लोकतान्त्रिक अभ्यासको दाबी गरिए पनि व्यवहारमा ‘पुराना दलहरूकै प्रवृत्ति’ दोहोरिएको भन्दै उनले असन्तुष्टि पोखेकी हुन् । ‘पार्टीको ‘भाइटल पोजिसन’ मा रहेका र सधैं लाभको पदमा बस्ने साथीहरू नै प्राइमरी भोटिङको धज्जी उडाउँदै समानुपातिकमा नाम सुरक्षित गर्न लाग्नु पुरानै दलहरूको पुनरावृत्ति हो,’ कार्कीले भनेकी छिन् ।
डा. कार्कीले पार्टी ठूलो र लोकप्रिय हुँदै गएको अवस्थामा पनि नेतृत्व पंक्ति प्रत्यक्ष चुनाव लड्न डराउनु लज्जास्पद भएको टिप्पणी गरेकी छिन् । उनले सचिवालय सदस्य र पदाधिकारीहरूलाई समानुपातिक सूचीबाट नाम फिर्ता लिएर प्रत्यक्ष निर्वाचनमा होमिन चुनौती दिएकी छिन् । ‘‘हामीले साँच्चिकै उदाहरणीय नेतृत्व गर्ने हो भने पदाधिकारी तथा सचिवालय सदस्यहरूले आ-आफ्नो नाम समानुपातिकको सूचीबाट हटाएर प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्छ,’ उनले लेखेकी छिन्, ‘समानुपातिक सूचीमा नातावाद र आफन्तवादलाई पूर्ण रूपले निषेध गरिनुपर्छ ।’