इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा कम्तीमा २१७ जनाको मृत्यु भएको छ । इरानमा विगत केही दिनदेखि देशको खस्कँदो आर्थिक अवस्था र महँगीका कारण सरकारको विरोधमा प्रदर्शन भइरहेका छन् ।
यसको सुरुवात २८ डिसेम्बर २०२५ मा भएको थियो । टाइम म्यागजिनले तेहरानका एक डाक्टरलाई उद्धृत गर्दै राजधानीका ६ वटा अस्पतालमा मात्रै कम्तीमा २१७ प्रदर्शनकारीको मृत्यु दर्ता गरिएको बताएको छ, जसमध्ये अधिकांशको मृत्यु गोली लागेर भएको बताइएको छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीले शुक्रबार राति रश्त शहरको एउटा मात्र अस्पतालमा ७० जनाको शव ल्याइएको पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार, इरानमा सरकार विरोधी प्रदर्शनहरू थप हिंसात्मक र व्यापक बनिरहेका छन् ।
इरानबाट प्राप्त रिपोर्टहरूका अनुसार, विगत चार दिनमा सुरक्षा बलको कारबाहीमा सयौँ मानिसहरूको मृत्यु भएको छ वा उनीहरू घाइते भएका छन । इरानका तीनवटा अस्पतालका कर्मचारीहरूले उनीहरूकहाँ घाइतेहरूको संख्या अत्यन्तै धेरै रहेको बताएका छन् ।
अधिकारीहरूले प्रदर्शनकारीहरूलाई चेतावनी दिँदै उनीहरूलाई ‘ईश्वर विरुद्धको अपराधी’ मान्न सकिने बताएका छन् । इरानमा यो यस्तो अपराध हो, जसको सजाय मृत्युदण्ड हुन सक्छ ।
सुरक्षा बलले बिहीबार राति प्रदर्शन चर्किएपछि धेरै ठाउँमा गोलाबारी गरेको थियो, त्यसपछि लगातार कारबाही जारी छ। यसैबीच, रिभोलुसनरी गार्ड्सका एक अधिकारीले सरकारी टेलिभिजनसँग कुरा गर्दै अभिभावकहरूले आफ्ना छोराछोरीलाई प्रदर्शनबाट टाढा राख्नुपर्ने, यदि उनीहरूलाई गोली लाग्यो भने गुनासो नगर्न चेतावनी दिएका छन् ।