काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको स्वाधीनता र स्वतन्त्रतालाई कायम राख्न जनताको एकता आवश्यक रहेको बताएका छन ।
आइतबार नेकपाको मुख्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन । प्रचण्डले देशभरिका सबै देशभक्त नेपालीबीच एकता कायम गर्नुपर्ने पनि बताएका छन ।
उनले राष्ट्रको आत्मसम्मान, पहिचान र अधिकार सुदृढ गर्नका लागि सबै नेपाली एकजुट हुनुपर्ने पनि बताए । प्रचण्डले वामपन्थी शक्तिबिच ध्रुवीकरण गर्ने उद्देश्यले नै नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको पनि बताएका छन ।
सोही कार्यक्रममा पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्राप्त राजनीतिक उपलब्धिलाई संरक्षण गर्नुपर्ने बताए । उनले उपलब्धि जोगाउन लोकतन्त्रवादी शक्ति र बाँकी रहेका वामपन्थीहरूलाई पनि मिलाएर लैजानुपर्ने धारणा राखे ।