१४ माघ २०८२, बुधबार
Follow Us

एक महिनाअघि ‘मामाघर जान्छु’ भन्दै हिंडेकी युवतीको शव इनारमा भेटियो

नेपालब्रिटेन संवाददाता
१४ माघ २०८२, बुधबार १२:५७

काठमाडौं । एक महिना अघि मामा घर जान भनेर घरबाट निस्केकी युवती मृत अवस्थामा फेला परेकी छन । हत्या गरेर इनारमा सडिसकेको अवस्थामा शव प्रहरीले फेला परेको हो ।

अनुसन्धानका क्रममा ती युवतीकै प्रेमीलाई प्रहरीले पक्राउ गरेको छ । यो घटना बाँकेको डडुवा गाउँपालिका–३ बनकट्टीको हो । १ माघको बिहान साढे १० बजेतिर बनकट्टी गाउँको एक इनामार सडिसकेको अवस्थामा एउटा शव फेला परेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । राम फेरन कुर्मीको घर पछाडि रहेको वर्षौंदेखि प्रयोगविहीन इनारमा शव भेटिएको थियो । प्रहरी घटनास्थल पुगेर इनारबाट शव निकाल्यो ।

सडिसकेको उक्त शवको पहिचान हुनै कठिन भएको थियो । करिब एक महिनाअघि नै हत्या गरेको जस्तो देखिएको थियो । ती युवतीको कपडा र गहनाबाट मृत युवती सोही ठाउँकी २१ वर्षीया बसन्ती गोडिया रहेको खुलेको थियो । उक्त शव पोस्टमार्टमका लागि भेरी अस्पताल पठाइयो ।
पोस्टमार्टम रिपोर्टमा ‘चोप इन्ज्युरी टू नेक एण्ड हेड’ उल्लेख छ । अर्थात् टाउको र घाँटीको विभिन्न भागको चोटका कारण हत्या भन्ने उल्लेख पोस्टमार्टम रिर्पोटमा छ ।

जसकारण प्रहरीले हत्या भएको निष्कर्ष निकालेर अनुसन्धान अघि बढायो । मृत भेटिएकी युवती गोडिया भने करिब एक महिनाअघि मामा घर जान भनेर घरबाट हिंडेको उनका परिवारका सदस्यले बताएका थिए । अनुसन्धानका क्रममा उनी भारत नानापारास्थित मामा घर नगएको खुलेको बाँकेका एसपी अंगुर जिसीले जानकारी दिए ।

अनुसन्धानकै क्रममा गोडिया करिब एक वर्षदेखि आफ्नै घर छेउका एक राकेश बर्मा नाम गरेका युवकसँग प्रेम सम्बन्धमा रहेको खुल्यो । २५ वर्षीया बर्मामाथि अनुसन्धान गर्दा उनैले हत्या गरेर इनारमा शव फालेको खुलेको एसपी जिसीले जानकारी दिए ।

आफूसँग प्रेम सम्बन्धमा रहे पनि अन्य युवकसँग पनि सम्बन्ध रहेको थाहा पाएपछि हत्या गरेको ती युवकले बताएको प्रहरी अनुसन्धान अधिकृतले जानकारी दिए ।

हत्या गर्ने बेला उनले राति ११ बजेतिर प्रेमिकालाई सल्लाह गर्न भन्दै घरबाट बोलाएर नजिकैको लाहारी बारीमा लगेको र त्यही विवाद भएपछि टाउकामा हिर्काएर हत्या गरेको बर्माले स्वीकारेको प्रहरीले जानकारी दिएको छ ।

धेरै पढिएको