काठमाडौं । नेपाली कांग्रेसले आज तीन जिल्लामा चुनावी सभा गर्ने भएको छ । कांग्रेसले रुपन्देहीको बुटवल, बागलुङको बागलुङ बजार र कास्कीको पोखरामा चुनावी सभा गर्न लागेको हो ।
तीन वटै उक्त सभामा पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरूले सम्बोधन गर्नेछन् । बिहान ११ बजे बुटवलमा सभा हुनेछ । दिउँसो १ बजे बागलुङमा र दिउँसो ३ बजे पोखरामा चुनावी सभा हुने तय भएको पार्टीले जनाएको छ ।
पोखराको अमरसिंहचौरमा हुने आमसभालाई पार्टीका सभापति गगनकुमार थापा तथा उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नविन सिग्देलले जानकारी दिए । आमसभामा प्रदेशभित्रका १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवारसहित नेता तथा कार्यकर्ता सहभागी हुने उनले बताए ।
आमसभामार्फत बदलिएको काँग्रेसको स्पष्ट विचार, नीति, कार्यशैली तथा आगामी योजनाबारे जनतालाई प्रत्यक्ष सन्देश दिइने प्रवक्ता सिग्देलले बताए। निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरूले आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।