२६ असार २०८३, शुक्रबार
Follow Us

ढकालको नेतृत्वमा बेलायतका पण्डितहरू एकीकृत

नेपालब्रिटेन संवाददाता
२६ असार २०८३, शुक्रबार २०:५५

लन्डन। बेलायतमा छरिएर रहेका नेपाली पण्डित तथा गुरुहरूलाई एकीकृत र संगठित गर्ने उद्देश्यले पण्डित चिरञ्जीवी ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति प्रस्ताव गरिएको छ। संस्थाको मुख्य लक्ष्य धर्म, भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु रहेको छ।

विगत केही वर्षदेखि गुरुहरूलाई एउटै साझा मञ्चमा आबद्ध गराउने प्रयासस्वरूप कम्पनी हाउसमा संस्था दर्ता गरिए पनि विभिन्न प्राविधिक कारणवश गतिविधिहरू सुस्ताएका थिए। सोही कारण पुरानो संस्थालाई औपचारिक रूपमा बन्द गरी नयाँ ऊर्जा र उत्साहका साथ पुनः एकीकृत भई अघि बढ्ने निर्णय गरिएको हो।

प्रवासमा रहेका नेपाली समाजमा देखा पर्ने सामाजिक, धार्मिक तथा सांस्कृतिक जटिलता, चाडपर्व तथा तिथि–मिति सम्बन्धी जिज्ञासाहरूको शास्त्रीय समाधान खोज्न र नयाँ पुस्तामा सनातन धर्मका मूल्य–मान्यताहरू हस्तान्तरण गर्न यस किसिमको संगठित प्रयास अत्यन्तै आवश्यक र सान्दर्भिक ठानिएको छ।

प्रारम्भिक चरणमा संस्थालाई गतिशील र प्रभावकारी रूपमा अघि बढाउन गठन गरिएको प्रस्तावित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा पं. निलहरी घिमिरे, उपाध्यक्षहरूमा पं. गोविन्द नेपाल र अर्जुन पाण्डे तथा महासचिवमा पं. शेखर शाण्डिल्य काफ्ले चयन भएका छन्।

त्यसैगरी, संस्थाको आर्थिक तथा प्रशासनिक पक्षलाई सुदृढ बनाउन कोषाध्यक्षमा पं. होमनाथ पौडेल र सह-कोषाध्यक्षमा पं. विनोद पन्थी प्रस्तावित भएका छन्। सचिवमा पं. डा. थानेश्वर पाण्डे र सह-सचिवमा पं. मधुसूदन सत्याल रहनेछन्।

कार्यसमिति सदस्यहरूमा पं. बासुदेव सापकोटा, पं. आनन्द लोहनी, पं. विज्ञान पौडेल र पं. माधव रेग्मी रहेका छन् भने वरिष्ठ पण्डित नारायण गाउलेलाई संस्थाको प्रमुख सल्लाहकारका रूपमा चयन गरिएको छ।

बेलायतभर रहेका सम्पूर्ण गुरुज्यूहरूको आज्ञा, अमूल्य सुझाव तथा मार्गदर्शनलाई आत्मसात गर्दै आगामी दिनमा धार्मिक तथा सांस्कृतिक पुनर्जागरणका कार्यक्रमहरूलाई सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता कार्यसमितिले व्यक्त गरेको छ।

धेरै पढिएको