३१ असार २०८३, बुधबार
Follow Us

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बर्खास्त गरे एमालेका मन्त्री

नेपालब्रिटेन संवाददाता
३१ असार २०८३, बुधबार १०:५५

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री शाहले यसअघि एमालेसँग सरकारमा रहने वा बाहिरिने निर्णय तत्काल दिन आग्रह गरेका थिए । मुख्यमन्त्रीको आग्रहपछि एमाले नेताहरू आन्तरिक छलफलमा जुटेका थिए भने एमालेको साथ नपाएको अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा शाह पक्षले पनि रणनीति बनाइरहेको थियो ।

एमालेबाट सहयोग नपाउने संकेत पाएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई हटाउने निर्णय गरेका हुन् ।

सत्ता साझेदार नेपाली कांग्रेस र एमालेबीच आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर विवाद बढ्दै गएको थियो । एमालेले बजेटमा खर्च कटौतीको प्रस्ताव राखेको थियो । प्रतिपक्षी नेकपाले समेत प्रदेश सभा सचिवालयमा खर्च कटौतीको प्रस्ताव दर्ता गराएको छ ।

मुख्यमन्त्री शाहले खर्च कटौतीको प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि एमालेले अस्वीकार गर्दै आएको थियो । असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने दबाबका बीच सत्ता साझेदार दलबीचको विवादले मुख्यमन्त्री शाह अप्ठ्यारोमा परेका थिए ।

स्रोतका अनुसार प्रदेश सरकारको बजेट संशोधनका लागि कांग्रेस, एमाले र नेकपाका प्रतिनिधि सम्मिलित कार्यदल बनाउने विषयमा समेत छलफल भएको थियो । तर एमालेले बजेट पुनर्लेखन, पेश्की बजेट ल्याउने र सरकारको नेतृत्व परिवर्तन गर्नुपर्ने प्रस्ताव अघि सारेपछि सहमतिको प्रयास असफल भएको हो ।

धेरै पढिएको