काठमाडौं । रौतहटमा एक युवाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदै आत्मदाहको प्रयास गरेका छन् । गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालका अनुसार गरुडा नगरपालिका–९ गमरिया टोलका २८ वर्षीय गौतमकुमार सहनीले बुधबार बिहान करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । उनलाई तत्काल स्थानीय अस्पताल पुर्याइए पनि अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । एसपी रिजालका अनुसार सहनीको शरीरको करिब ३१.५ प्रतिशत भाग जलेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनी डिप्रेसनमा रहेको र अत्यधिक मदिरा सेवन गर्ने गरेको जानकारी परिवारले प्रहरीलाई दिएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्ला केही सातायता देशका विभिन्न स्थानमा आत्मदाहका प्रयास र घटनाहरू बढिरहेका छन् ।
यसअघि मुगुका गणेश नेपाली, काठमाडौंका आश्विन राउत र सर्लाहीका विवेक मण्डलले आत्मदाह गरेपछि उपचारकै क्रममा ज्यान गुमाएका थिए ।