जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा–२ का सांसद चन्दनकुमार सिंहविरुद्ध भेदभाव तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको छ ।
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासको परमादेशपछि जिल्ला प्रहरी कार्यालय बाराले असोज ६ गते सिंहसहित १४ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । देवताल गाउँपालिका–५ का ३१ वर्षीय गनपत कुमार महतोको जाहेरीका आधारमा मुद्दा दर्ता गरिएको हो ।
प्रहरीले अदालतको आदेशअनुसार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ । बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार सिंहविरुद्ध हालसम्म पक्राउ पुर्जी जारी भएको छैन । ‘उच्च अदालतको परमादेशमा उक्त मुद्दा दर्ता भएको हो । मुद्दामा अनुसन्धान भइरहेको छ,’ एसपी कुँवरले भने, ‘यसअघि पनि मुद्दा दर्ता गराउने प्रयास भएको थियो । तर भएको थिएन ।’
महतोले आफूलाई सामाजिक रूपमा बहिष्कार गर्ने निर्णय गरिएको भन्दै सिंहसहितका व्यक्तिविरुद्ध जाहेरी दिएका हुन् । गाउँमा हुने गलत गतिविधिको विरोध गरेको तथा विकाससम्बन्धी काममा अवरोध हुन नदिन पहल गरेको कारण आफूलाई निशाना बनाइएको उनको दाबी छ ।
जाहेरीअनुसार महतो र उनको परिवारलाई विवाह, सामाजिक तथा धार्मिक कार्यक्रममा सहभागी हुन नदिने, सार्वजनिक तथा धार्मिक स्थलमा बहिष्कार गर्ने तथा गाउँमा आफ्नो चरित्र र प्रतिष्ठामा असर पर्ने गरी प्रचार–प्रसार गरिएको आरोप छ ।
महतोले आफूलाई ‘ठूलोबडा’ बन्न खोज्ने व्यक्तिका रूपमा प्रचार गर्दै दलित, गरिब, विपन्न तथा अल्पसंख्यक समुदायका व्यक्तिलाई पैसा तथा अन्य प्रलोभन दिएर आफ्नो विरोधमा प्रयोग गरिएको दाबीसमेत गरेका छन् ।
घटनाका कारण आफूले सामाजिक अपमान र बहिष्कार भोग्नुपरेको भन्दै महतोले दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेका छन् । जाहेरीसँगै घटनासँग सम्बन्धित निर्णयको प्रतिलिपिसमेत प्रमाणका रूपमा बुझाइएको प्रहरीले जनाएको छ ।
सिंहसँगै रामबाबु प्रसाद यादव, ईश्वर चौधरी, विश्वनाथ सिंह, दिला सिंह, भैरव राउत, शिवदर्शन पण्डित, वीरेन्द्र पासवान, प्रमोद प्रसाद साह, हरिनारायण गिरी, रामबाबु यादव, भोडीलाल साह, रामेश्वर महतो र देवराज महतोलाई जाहेरीमा विपक्षी बनाइएको छ ।
सिंह २०७४ सालमा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीबाट देवताल गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए । पछि रास्वपा प्रवेश गरेका उनी बारा–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।