मुख्य समाचार

कृषि विकास बैंकका तीन जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कृषि विकास बैंक लिमिटेडको झन्डै पाँच करोड रुपैयाँ हिनामिना गरेको आरोपमा बैंकका एक कर्मचारीसहित तीन जनालाई पक्राउ गरेको छ । बैंकको न्युरोड शाखामा कार्यरत सहायक टेलर दिपिका रेग्मीले अन्य दुई सहयोगीका साथमा बैंकको खातामा मौज्दात रहनुपर्ने रकम अपचलन गरेको ब्युरोले जनाएको छ । ब्युरोले काठमाडौं नागार्जुन नगरपालिका १ बस्ने दिपिकासहित तेह्रथुम सिम्ले घर भई बालाजु बस्ने प्रकाश घतानी र दोलखा भिमेश्वर नगरपालिका ६ घर भई काठमाडौं ३२ बस्ने रमेशकुमार थापालाई पनि पक्राउ गरेको छ ।

ब्युरोका अनुसार कृषि विकास बैंकको रामशाहपथस्थित कार्यालय र सोही बैंकको न्युरोड शाखाबीच हुने अन्तरशाखा कारोबारको हिसाब क्लियरिङको रकम पेन्डिङ भएको देखाई दिपिकाले ४ करोड ९१ लाख रुपैयाँ अपचलन गरेकी हुन् । १३ गते पक्राउ परेका तीनै जनालाई प्रहरीले थप अनुसन्धानका लागि जिल्ला अदालत पाटनबाट पाँच दिनको म्याद थप गरेको छ । ब्युरोले उनीहरूविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम कारबाही गर्ने तयारी थालेको छ ।

प्रहरीका अनुसार सहायक टेलर दिपिकाले कृषि विकास बैंकमा जम्मा गर्न ल्याएका विभिन्न बैंकको चेक इलेक्ट्रोनिक चेक क्लियरेन्समार्फत सम्बन्धित खातावालाको खातामा जम्मा गर्थिन् । त्यसपछि भुक्तानी जेनेरेट गरिएको रिपोर्ट इडिट गरी सोही चेकलाई पुन: इलक्ट्रोनिक चेक क्लियरेन्स गरेर आफ्नो र आफन्तको खातामा चेकको रकम जम्मा गर्ने गरेको खुल्न आएको छ ।

ब्युरोका अनुसार यसरी जम्मा गरेको अवैध रकम दिपिकाले सुनचाँदी किन्न खर्चेकी थिइन् । पक्राउ परेका प्रकाश घतानीको खातामा समेत दिपिकाले अवैध रकम जम्मा गर्ने र उक्त रकमबापत घतानीले सुनका गरगहना दिने गरेको खुलेको छ । त्यस्तै रमेशकुमार थापाले भने अवैध रकम जम्मा गर्ने काममा दिपिकालाई सहयोग गरेको खुलेको छ ।

– कान्तिपुरबाट ।

About the author
nepalbritain news

nepalbritain news