ब्रेकिङ न्युज

बर्न्टओकवासीको ‘समर बार्बेक्यु’

लन्डन । मिडलसेक्सस्थित बर्न्टओकमा बसोबास गर्ने नेपालीहरुले लण्डनबाट नजीकै रहेको सेन्ट एल्बान्सस्थित भेरुलमियम पार्कमा हिजो शनिबार रमाइलो गरे । बर्न्टओक नेपाली समाजको आयोजनामा झण्डै डेढसय नेपालीहरुले सपरिवार बार्बेक्यु, नाचगान, म्युजिकल चेयर, राफल ड्र लगायतका कार्यक्रमहरु गरी रमाइलो गरेका थिए। वनभोज कार्यक्रममा भूतपूर्व गोर्खा सैनिक तथा परिवार, आमा समूह तथा युवा समूहका सदस्यहरु लगायत सहभागी भएका थिए।

उक्त अवसरमा बोल्दै समाजका अध्यक्ष उदय गुरुङले बर्न्टओक नेपाली समाजले आफ्ना सदस्य र तिनका परिवारकालागि हरेक वर्ष गृष्मकालिन कार्यक्रम आयोजना गर्ने गरेको बताउनुभयो। उहाँले संस्थाले युवाहरुकालागि फुटबल तथा साना नानीहरुकालागि नेपाली भाषा कक्षा सन्चालन गरी नेपाली कला तथा संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्ने काम गरिरहेको पनि जनाउनुभयो। उहाँले समर बार्बेक्यु आयोजना गर्न सघाउने सबैलाई धन्यवाद पनि दिनुभयो।

त्यस्तै बार्नेट काउन्सिलका नवनिर्वाचित काउन्सिलर लक्ष्य गुरुङले बेलायतमा बसोबास गर्ने नेपाली समुदाय मूलधारमा सहभागी नभएसम्म पछाडि पर्ने आफुले अनुभव गरेकेा बताउनुभयो। उहाँले ब्रिटिश सरकारका गृहमन्त्री सादिक जावीद तथा लण्डन मेयर सदिक खानको उदाहरण दिंदै ब्रिटेनस्थित नेपाली युवाहरु भोलि त्यस्तै स्थानमा पुग्न बाटो खोल्ने उद्देश्यले आफु राजनीतिमा प्रवेश गरेकेा बताउनुभयो। उहाँले गत मे ३ तारिखमा संपन्न स्थानीय चुनावमा आफुलाई विजयी गराउन सघाउने सबैलाई धन्यवाद पनि दिनुभयो।

कार्यक्रमको सन्चालन समाजका महासचिव भोला पनेरुले गर्नुभएको थियो। समाजले हरेक वर्ष गृष्मयाम तथा दशैं तिहारका अवसरमा कार्यक्रमहरु आयोजना गर्ने गरेकेा छ । बर्न्टओक नेपाली समाजले गत वर्ष गृष्म याममा मिल्टन किन्सको प्रसिद्ध पर्यटकीय स्थल विलेन लेक क्षेत्रमा समर बार्बेक्युको आयोजना गरेकेा थियो।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता